काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वर्षमा कम्तीमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ कार्यक्रमहरु सञ्चालन भइरहेको दावी गरेका छन्। ४०औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री भट्टराईले यो लक्ष्य भेट्टाउन नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनुपर्ने उल्लेख गरेका छन्।
'नेपालमा पर्यटकीय गतिविधि, उपज एवं सेवा प्रवाह कार्यमा साझेदारीका संयन्त्रलाई चुस्त, लचिलो र व्यापक बनाउन आवश्यक देख्छु,' उनले भनेका छन्, 'पर्यटन क्षेत्रको बहुआयामिक विकासका लागि सरकारबाट सुरु गरिएका अभियानमा सधैंझै सम्बद्ध सबै क्षेत्रबाट पूर्ण सहयोग, सहकार्य र साथको अपेक्षा गरेको छु।'
सरकारले पर्यटनका नवीनतम गन्तव्यहरुको पहिचान, पूर्वाधार विकासका साथै स्थापित गन्तव्यहरूको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गरिरहेको उनको दावी छ।
रोजगारी तथा वैदेशिक मुद्रा आम्दानीको दिगो र उल्लेखनीय स्रोतको रूपमा समग्र पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा नेपाल सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।