काठमाडौं- नेपाल विद्युत प्राधिकरणले केन्द्रीय कार्यालय रत्नपार्कमा रहेका ४४ वटा सवारी साधन धुन र पूजा गर्न १ लाख २३ हजार २ सय रुपैयाँ खर्च गर्ने भएको छ। दसैंको अवसरमा केन्द्रीय कार्यालयमा रहेका ती गाडी धुन प्रतिगाडी १४ सय रुपैयाँ र वर्कसप पूजा गर्न थप १४ सय रुपैयाँ दिने गरी निर्णय भएको हो।
प्राधिकणले कार्यकारी निर्देशकस्तरीय निर्णयबाट यो रकम वितरण गर्न लागिएको हो। 'उपरोक्त सम्बन्धमा विगत वर्षमा झैँ यस वर्ष २०७६ सालको बडा दसैंको उपलक्षमा निम्नानुसारको व्यवस्था गरी गाडी पूजा र वर्कसप/मेसिन पूजा गर्न मिति २०७६ असोज ६ गते कार्यकारी निर्देशकस्तरीय निर्णय भएको हुँदा जानकारीका लागि अनुरोध गरिन्छ,' प्राधिकरणको निर्णयमा भनिएको छ।
यसैगरी निर्णयमा नै 'केन्द्रीय कार्यालयदेखि बाहेकका अन्य कार्यालयहरुमा चालु हालतका गाडीहरु र वर्कसप/मेसिन पूजा सम्बन्धित उपकार्यकारी निर्देशकको कार्यालयबाट प्रति गाडी १४०० र मेसिन/वर्कसप पूजा गर्न रु १४०० मा नबढ्ने गरी पूजा गर्ने व्यवस्था मिलाउने,' उल्लेख छ।
यस्तै दोस्रो नम्बरमा 'केन्द्रीय कार्यालयमा चालु हालतमा रहेका जम्मा ४४ वटा गाडीका लागि प्रति गाडी रु १४०० का दरले र वर्कसपको लागि १४०० केन्द्रीय भुक्तानी महाशाखाबाट उपलब्ध गरी सवारी शाखाबाट पूजाको व्यवस्था गर्ने,' लेखिएको छ।
प्राधिकरणको यस निर्णयअनुसार एउटा गाडी धुन ६१ हजार ६ सय रुपैयाँ भुक्तानी हुनेछ। यस्तै वर्कसप/मेसिन पूजा गर्न थप ६१ हजार ६ सय रुपैयाँ गरी १ लाख २३ हजार २ सय रुपैयाँ भुक्तानी हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।