जनकपुर- धनुषाको एक होटेलमा फ्रिजबाट करेन्ट लागेर श्रीमान्-श्रीमतीसहित ३ जनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका-७, पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजबाट करेन्ट लागेर गएराति ३ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा होटेल सञ्चालक ५५ वर्षका शिवकुमार महतो, उनकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदार रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। दुई जनाको नाम खुल्न सकेको छैन।
घटना रातिकै भए पनि बिहान कोही नउठेपछि हेर्दा तीनैजना करेन्ट लागेको अवस्थामा मृत फेला परेका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
बिहानै होटल सञ्चालक महतोकी आमा होटलमा गई ढोका खोल्दा तीनै जनालाई मृत अवस्थामा देखेपछि स्थानीयहरुलाई गुहारेकी थिइन्। घटनापश्चात् स्थानीय प्रत्यक्षदर्शीका अनुसार तीनै जना होटलमा राखिएको फ्रिज नजिकै मृत अवस्थामा भेटिएका थिए।
अहिले इलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थलमा पुगेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाए।
घटनास्थल प्रकृति मुचुल्का उठाई तीनै जनाको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।