काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूग्ध विकास संस्थान (डिडिसी)का तत्कालीन महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।
संस्थानका तत्कालीन महाप्रबन्धक गंगा तिमसिना, तत्कालीन निमित्त उपमहाप्रबन्धक डा.ईश्वरी प्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकारविरुद्ध अख्तियार विशेष अदालत पुगेको हो।
यसैगरी संस्थानकै तत्कालीन सहायक प्रबन्धक माधव प्रसाद ओझा, तत्कालीन बरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालीन प्रशासकिय अधिकृत हाल दुग्ध विकास संस्थानका प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दिपक सुवेदी समेत सो कार्यमा संलग्न भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
यसैगरी, दूध डिष्ट्रिब्युटर गोकुल निर्माण सेवाका संचालक गोकुल फुयाल र प्रभु आदित्य बिजनेश प्रा.लि.का संचालकद्वय फणिन्द्र प्रसाद दाहाल, दिप बहादुर खड्का र तत्कालीन सञ्चालक सतिस कुमार गिरी समेत विरूद्ध आयोगले मुद्दा दायर गरेको हो।
.JPG)
संस्थानले काठमाडौं उपत्यकामा दूग्ध पदार्थ वितरणको लागि ठेकेदार छनोट गर्दा भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ। संस्थानले गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेश प्रालिलाई ठेक्का दिएकोमा ठेकेदार कम्पनीसँग मिलेमतो गरी टेन्डर नगरी पुन: सम्झौता गरी संस्थानलाई आर्थिक नोक्सानी पुर्याएको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ।
मिलेमतोमा संस्थानलाई हानि नोक्सानी पुर्याउने बदनियतले २०६९ माघ २२ गतेको सम्झौतामा उल्लेखित प्रतिलिटर ढुवानी मूल्यमा आफूखुसी ५% मूल्यवृद्धि गर्ने निर्णय गरी/गराई अस्वाभाविक बढी भुक्तानी दिई उनीहरूले संस्थानलाई हानी पुर्याएको आरोप लगाइएको छ।
उनीहरू विरद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको आयोगले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।