राजविराज- पहिलो पत्नीबाट छोरा नजन्मिएको भन्दै १४ वर्षीया किशोरीसँग विवाह गरेका एक व्यक्तिलाई ४ वर्षपछि अदालतले कैद फैसला सुनाएको छ।
सप्तरीको कञ्चनरुप नगरपालिका– ६ पिप्रा पूर्वकी १४ वर्षीया किशोरीसँग बहुविवाह गर्ने सप्तरीको डाकनेश्वरी नगरपालिका–३ तरहीका ४१ वर्षीय हुलासप्रसाद साहलाई उच्च अदालत जनकपुर, राजविराज इजलासले भदौ ३० गते कैद गर्न आदेश गरेको हो।
मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठसहितको संयुक्त इजलासले साहलाई बहुविवाह गरेकोमा १ वर्ष कैद र ५ हजार जरिवाना तथा बालविवाह गरेकोमा १० हजार जरिवानाको फैसला भएको गरेको अदालतले जनाएको छ। अदालतले किशोरीका बुबा सागर साहलाई पनि १ हजार जरिवाना गरेको छ।
आरोपीले २०७२ जेठ १५ गते सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी मन्दिरमा दोस्रो विवाह गरेका थिए। यसअघि २०५० सालमा जनकपुर भानु चोककी बिनादेवी साहसँग पहिलो विवाह गरेका साहको जेठी पत्नीतर्फ २४/२५ वर्षीया छोरी छिन्।
जेठी पत्नीबाट छोरा नभएको भन्दै उनले दोस्रो विवाह गरेपछि सोही दिन मानव अधिकारकर्मीहरुको एक टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको थियो। प्रहरीले तत्कालै साहलाई पक्राउ गरी बालविवाह तथा बहुविवाहको उजुरी दर्ता गरेको थियो।
२०७२ असार ९ गते न्यायाधीश राजेन्द्र अधिकारीको इजलासमा मुद्दा सुनुवाइ हुँदा ४५ हजार रुपैयाँ धरौटीमा साहलाई रिहा गरिएको थियो। यसैगरी, २०७३ चैत २१ गते जिल्ला न्यायाधीश विनोदकुमार गौतमको इजलासले वादी दाबी नपुग्ने फैसलासहित आरोतिहरुलाई सफाइ दिएको थियो।
आरोपितले प्रहरी र सरकारी वकिलसमक्ष साबिती बयान दिए पनि अदालतमा इन्कारी बयान दिएको तथा विवाह गर्ने दुवै पक्षले विवाह नै नगरेको बकपत्र गरेपपछि जिल्ला अदालतले आरोपितहरुलाई सफाइ दिने फैसला गरेको थियो।
महत्वपूर्ण प्रमाणलाई बेवास्ता गरी आरोपितको बयानका आधारमा सफाइ दिने जिल्ला अदालतको फैसलाविरुद्ध निवेदकले २०७५ साउन २७ गते उच्च अदालत जनकपुर, राजविराज इजलासमा पुनरावेदन गरेका थिए। मुद्दा सुनुवाइका क्रममा भदौ ३० गते जिल्ला अदालतको फैसलालाई उल्टाएर उच्चले साहलाई कैद गर्ने फैसला गरेको इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।