काठमाडौं- शैलेन्द्र अधिकारीको उपन्यास 'निर्वेद' सार्वजनिक भएको छ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’, त्रिभुवन विश्वविध्यालयका उप-प्राध्यापक सुदीप पोख्रेल र साहित्यकार रूपक अलङ्कारले कृति सार्वजनिक गरेका हुन्।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रेक्षितले नेपाली साहित्यको उनन्यन र प्रवर्द्धनमा निर्वेद जस्ता उपन्यासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे।
साहित्यकार अलङ्कारले आम मानिसले बिर्सिसकेको विषयवस्तुलाई लेखकले समेटेको बताए। 'आम मानिसले बिर्सिसकेको कथालाई कलात्मक रूपमा लेखिएको छ। दैनिक जीवन र लोकव्यवहारलाई पनि लेखकले उत्कृष्ट तरिकाले प्रस्तुत गर्नुभएको छ।
उनले प्रगतीशिल विचारधारामा आस्था राख्ने लेखकले पूर्वजन्म र परोजन्मको विषय उठान गर्नु आफैंमा फरक विषय भएको धारणा राखे।
उपप्राध्यापक पोख्रेलले पूर्वीय आध्यात्म दर्शनलाई फरक ढंगबाट उपन्यासमा उतार्न लेखक सफल बनेको धारणा राखे।
'हर्मन हेस्सेले 'सिद्धार्थ'मा बुद्ध दर्शनलाई पृथक तरिकाले हेर्ने दृष्टिकोण राखेका छन्। निर्वेदका लेखकले पूर्वीय दर्शनलाई पश्चिमा विसंगतिवादले कसरी हस्तक्षेप गरिरहेको छ भन्ने उपन्यासमा लेखेका छन्,' उनले भने।
लेखक अधिकारीले आफूले उठाएको विषयवस्तु नवीन र फरक रहेको भन्दै पुस्तक लेखेर जोखिम मोलेको धारणा राखे।
युवा जोगीको कथानकमा आधारित उपन्यास 'निर्वेद' शिखा बुकसले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।