काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई काँचुली फेर्ने अभियानको नेतृत्वमा आफू रहेको उल्लेख गर्दै नेपाली जनताको दशकौंको सपना पूरा हुने दाबी गरेका छन्।
संविधान दिवसको अवसर पारेर काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, म फेरि प्रतिबद्धता जाहेर गर्दछु, मुलुकले काँचुली फेर्छ, हाम्रा सपनाहरु पूरा हुन्छन् हुन्छन्। यस अभियानको नेतृत्वमा म छु।’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मुलुक बनाउने ठोस आधार पनि प्रस्तुत गरे। ‘हामीसँग हालसम्म दोहन नगरिएका प्राकृतिक स्रोत छन्। अनुकूल जलवायु छ। राजनीतिक स्थिरता छ। तपाईंहरुको मतबाट बनेको बलियो सरकार छ। युवा क्रियाशील जनशक्ति ठूलो छ। यसैलाई परिचालन गरेर मुलुकको काँचुली फेर्ने हाम्रो योजना छ।
प्रधानमन्त्री ओलीले युवा पुस्ता छिप्पिनुअघि नै विकासको तीव्र गतिको दौड पूरा गर्नुपर्ने पनि स्पष्ट पारे। उनले जनताको मुर्छित सपनाहरुलाई साकार पार्न सरकार दृढतापूर्वक लागिपरेको पनि उल्लेख गरे। म विनम्रताका साथ स्वीकार्छु– हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ। मैले भनेको हुँ– निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं, उनले भने।
पारिवारिक विछोड, उत्पीडन र छटपटीबाट उन्मुक्ति पाएका सबै नेपालीहरुका लागि आजको दिन स्वतन्त्रता दिवस भएको उनले बताए। यो प्राप्त उपलब्धिप्रति गर्व गर्ने उत्सव हो। त्यसैले यो हाम्रो राष्ट्रिय दिवस न त फगत तामझाम हो, न आम जनतामा अरुचि हुने निरङ्कुश शासकहरुको ‘उर्दी र तामेली’ जस्तो हो।
प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्ष नहुन आह्वान गरे। नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई पनि मूलधारमा आउन ढिलाइ नगर्न आग्रह गर्दै उनले भने, हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थाहरुलाई पनि यसले यसै अवधिमा मूलधारमा फर्काउन सफल भएको छ। जो अझै बाटो भुलिरहेका छन, उनीहरुले पनि मूल धारमा आउन ढिलाइ गर्नुहुन्न।’
प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएको उल्लेख गर्दै राजनीतिको नाममा शान्ति, सुरक्षा र मुलुकको राष्ट्रिय एकतालाई खल्बल्याउने खालका संविधान र कानुन विपरीतका गतिविधिलाई सरकारले कडाइका साथ रोक्ने चेतावनी पनि दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।