काठमाडौं- कालिका लघुवित्त विकास बैंक र जनसेवी लघुवित्त वित्तीय संस्थाको मर्जर प्रक्रियामा अनिश्चितता थपिएको छ।
कालिका सञ्चालक समितिका केही पदाधिकारी र संस्थापक सेयरधनीहरुको भेलाले मर्जर प्रक्रियाप्रति असहमति जनाएका हुन्। भाद्र १४ मा बसेको भेलाले जनसेवीका कार्यकारी प्रमुख कमल खत्रीलाई मर्जरपछिको संस्थामा उपकार्यकारी प्रमुखको रुपमा अस्विकार गर्ने निर्णय गरेको छ।
साथै, मर्जर प्रक्रियामा जनसेवीलाई एक अनुपात एक हुने सहमतिलाई मान्न नसकिने उल्लेख गरिएको छ। वित्तीय अवस्था कमजोर रहेको जनसेवीलाई समान हैसियत प्रदान गरी मर्जर गर्न नहुने उनीहरुको धारणा छ।
असहमतिमा सञ्चालक समितिका अध्यक्ष कृष्ण खाँडसहित ११ जनाले हस्ताक्षर गरेका छन्।
मर्जरपछि बन्ने संस्थाको नाम कालिका नै हुनुपर्ने अडान दोहोर्याइएको छ। यसअघि मर्जरपछि संस्थाको नाम जनकालिका हुनेगरी मर्जर समितिले निर्णय गरेको थियो।
मर्जर समितिका संयोजकसमेत रहेका विश्व नेपालले मर्जर प्रक्रियाबारे आफूलाई नै जानकारी नभएको बताए। उनले भने, ‘दुई महिनादेखि बिरामी छु। संस्था मर्ज हुने/नहुने विषयमा ध्यान दिन सकेको छैन।’
सञ्चालक समितिमा भएको विवादले भाद्र १ गतेदेखि हुने भनिएको दुई वित्तीय संस्थाको संयुक्त कारोबार हुनसकेको छैन।
यो पनिः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।