काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा १६ दिनसम्म हिरासतमा बसेका विशाल चौधरीले अन्ततः प्रहरीविरुद्ध उजुरी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बिहीबार उजुरी दिन गए पनि प्रहरीले उनको उजुरी लिन मानेको थिएन। तर, आज भने कञ्चनपुर प्रहरीले उनको उजुरी दर्ता गराएको छ।
हिरासतमा हुँदा आफूलाई यातना दिएको उनको उजुरीमा उल्लेख छ। उनले त्यस बेलाका कञ्चनपुरका डिएसपी कृष्ण ओझा र सालघारीका असई रामसिंह धामीविरुद्ध उजुरी लेखेका छन्।
चौधरी र उनको परिवारले यातना दिएर अपराध स्वीकार गर्न लगाएको दाबी गरेका छन्।
कञ्चनपुरमा पक्राउ परेका उनलाई अनुसन्धान र डिएनए परीक्षणका लागि भन्दै काठमाडौं ल्याइएको थियो। चौधरीसँगै प्रदीप रावल पनि पक्राउ परेका थिए। उनीहरुको बयान लिन आइजिपी सर्वेन्द्र खनाल आफैं सिआइबी पुगेका थिए।
हिरासतबाट छुटेपछि उनीहरुले 'मेरा अगाडि ढुंगो पनि बोल्छ, मैले हत्या गरेको हुँ भन्, नत्र मार्छु' भन्दै यातना दिएको त्यसबेलै बताएका थिए। चौधरी २०७५ पुस ६ गते छुटेका थिए।
निर्मला प्रकरणमै यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै उजुरी परेका केही प्रहरी अधिकारी अझै निलम्बनमा छन्।
निर्मला पन्तको हत्या गत साउन १० मा भएको थियो। तर, घटना भएको एक वर्ष पुग्नैलाग्दा समेत उनको हत्यारा पत्ता लाग्न सकेको छैन।
सम्बन्धित समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।