काठमाडौं– बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा बिहीबारदेखि आइतबारसम्म वर्षा हुन सक्ने भन्दै मौसमविद्ले किसानलाई धान नकाट्न सुझाव दिएका छन्।
मौसमविद् विनोद पोखरेलका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म वर्षाको सम्भावना बढी छ। देशका धेरै स्थानमा झरी पर्नुका साथै केही क्षेत्रमा भारी वर्षासमेत हुन सक्ने उनको पूर्वानुमान छ।
धान पाकिसकेको अवस्थामा स्थानीय मौसमको अवस्था हेरेर वर्षा सुरु हुनुअघि नै काट्ने, सुकाउने र सुरक्षित रूपमा भित्र्याउने व्यवस्था मिलाउन उनले आग्रह गरेका छन्।
हिमाली क्षेत्रमा हिमपात र चिसो बढ्न सक्ने
वर्षाको सम्भावनासँगै उच्च हिमाली क्षेत्रमा भारी हिमपात र चिसो बढ्न सक्ने भएकाले पदयात्रा तथा अन्य यात्रामा निस्कनेहरूलाई सतर्क रहन पोखरेलले सुझाव दिएका छन्। यात्राको योजना बनाउनुअघि नियमित मौसम अपडेट र आधिकारिक सूचना हेर्नुपर्ने उनको भनाइ छ।
पोखरेलका अनुसार बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली र माथिल्लो वायुमण्डलमा रहने न्यूनचापीय रेखाको प्रभाव एकैसाथ देखिन सक्नेछ। यी प्रणालीको अनुकूल संयोगले ओसिलो हावा माथि उठ्ने प्रक्रिया बलियो बनाउँदा नेपालमा वर्षाको सम्भावना बढ्न सक्छ।
वर्षा सुरु हुने समय फेरिन सक्ने
करिब एक महिनाअघि पनि यस्तै मौसमी प्रणालीका कारण नेपालमा भारी वर्षा भएको स्मरण गराउँदै पोखरेलले यसपटक पनि पूर्वानुमान गरिएको समयभन्दा वर्षा छिटो वा ढिलो सुरु हुन सक्ने बताएका छन्।
वर्षाको समय, प्रभावित हुने स्थान र मात्रा परिवर्तन हुन सक्ने भएकाले किसान तथा यात्रुहरूलाई पछिल्लो मौसम पूर्वानुमानका आधारमा योजना बनाउन उनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।