काठमाडौं– निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध मुद्दा दायर भएको छ।
पत्रकार भण्डारीविरुद्ध पूर्व एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेका हुन्। उनले आज दिउँसो साढे २ बजे जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता गरेका उनका बाबु दिल्लीराज विष्टले जानकारी दिए।
किरणले भण्डारीले निर्मला हत्या प्रकरणमा आफूलाई जोडर समाचार सम्प्रेषण गरेको र त्यसले आफ्नो मानहानी भएको भन्दै गाली-बेइज्जतीको मुद्दा दायर गरेका हुन्। भण्डारी महेन्द्रनगरको स्थानीय मानसखण्ड दैनिक र मानसखण्ड अनलाइनका सम्पादक हुन्।
पत्रकार भण्डारीमाथि यसअघि पनि बबिता र राेशनी बमले समेत आफ्नाे चरित्र हत्या गर्ने काम भएकाे भन्दै गाली-बेइज्जती मुद्दा दायर गरेका थिए।
अपराध संहिताकाे गाली-बेइज्जती कसुर अन्तर्गत दर्ता गरिएको मुद्दामा २ वर्ष जेल वा २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।
गत साउन १० गते साथीको घर जान्छु भनेर हिँडेकी बालिका पन्त भोलिपल्ट मृत भेटिएकी थिइन्। उनको हत्यारा अझै पत्ता लाग्न सकेकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।