काठमाडौं– जेठ तेस्रो साता हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले तयारी थालेको छ। मंगलबारदेखि नेपालले तयारी सुरु गरेको हो।
नेपाली राष्ट्रिय टिमका स्विडिस प्रशिक्षक योहान कालिन र सहायक प्रशिक्षक किरण श्रेष्ठले मंगलबारदेखि खेलाडीको प्रशिक्षण सुरु गरेका हुन्। पहिलो चरणको प्रशिक्षणमा सिनियर टिम र यु–२३ का खेलाडीको बाहुल्यता छ। पहिलो चरणको प्रशिक्षणमा ४२ खेलाडीलाई बोलाइएको छ।
नेपालले आगामी जेठ १९ गते आइतबार मलेसियासँग मैत्रीपूर्ण खेल्ने कार्यक्रम छ। मलेसियाले नेपालसँग खेल्ने पुष्टि गरिसकेको छ। यसअघि पनि नेपाल र मलेसियाबीच मैत्रीपूर्ण खेलको टुंगो लागेको थियो। तर प्राविधिक कारणले रद्द गरिएको थियो।
नेपालले दोस्रो मैत्रीपूर्ण खेल २३ जेठमा चाइनिज ताइपेईसँग खेल्ने कार्यक्रम छ। बलियो ताइपेईसँग खेल्नु नेपालका लागि कठिन मानिएको छ। किनकी फिफा वरियतामा ताइपेई १ सय २५ स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ। मलेसिया भने नेपाल भन्दा ७ स्थान तल १ सय ६८ स्थानमा छ।

नेपालले गत महिना कुवेतसँग २ वटा मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिदा दोस्रो खेलमा कुवेतले नेपाललाई १–० गोलले हराएको थियो।
नेपालले मैत्रीपूर्ण खेललाई विश्वकप फुटबल २०२२ को दोस्रो चरणको छनोटको तयारीको रुपमा लिएको छ। फिफा वरियताको आधारमा नेपाल सिधै दोस्रो चरणमा पुगेको थियो। दोस्रो चरण आगामी सेप्टेम्बरदेखि हुँदैछ।
फिफा वरियतामा १६१ औं स्थानमा रहेको नेपाल अप्रिल महिनाको वरियताको आधारमा दोस्रो चरणमा पुगेको थियो।
विश्वकपको पहिलो चरणमा एसियन वरियतामा ३५ देखि ४६ औं वरियतामा पर्ने १२ टिमले प्रतिस्पर्धा गर्ने प्रावधान छ। होम एण्ड अवेको आधारमा हुने पहिलो चरणको विजेता ६ टिम दोस्रो चरणमा प्रवेश गर्नेछ।

नेपाल एसिया वरीयताको ३४औं स्थानमा रहँदै दोस्रो चरणमा पुगेको थियो।
दोस्रो चरणमा एसिया वरियताको शीर्ष ३४ र पहिलो चरणबाट छनोट भएर आउने ६ टिम गरी ४० टिमले प्रतिस्पर्धा गर्नेछन्।
४० राष्ट्रलाई ८ समूहमा विभाजन गरिने दोस्रो चरणमा प्रत्येक समूहमा पाँच टिम हुनेछन् । होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा समूह विजेता आठ टिम र उत्कृष्ट समूह उपविजेता गरी १२ टिम विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछ । त्यस्तै, यही १२ टिमले एसिया कप खेल्नेछन् ।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।