काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच एनसेलका ग्राहकलाई सहज र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले साझेदारी भएको छ।
साझेदारीअन्तर्गत २९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन सक्नेछन्। त्यस्तै, ९९ देखि २९९ रुपैयाँसम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकले चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।
मंगलबार आयोजित कार्यक्रममा एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले सम्झौतामा हस्ताक्षर गरेका छन्।
दत्ताले एनसेलका मोबाइल सेवा प्रयोगकर्तालाई कनेक्टिभिटीसँगै स्वास्थ्य सेवामा समेत थप लाभ उपलब्ध गराउने उद्देश्यले साझेदारी गरिएको बताए। उनका अनुसार निःशुल्क चिकित्सक परामर्शदेखि परामर्श शुल्कमा छुटसम्मको सुविधा ग्राहकले पाउनेछन्।
सुविधा लिन योग्य एनसेल ग्राहकले एनसेल एपमा लगइन गरी ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्नेछ। एपले ग्राहकको योग्यता र उपलब्ध सुविधाको विवरण देखाउनेछ। योग्य नदेखिएका ग्राहकले आवश्यक प्याक वा रेन्टल सेवा लिएपछि सुविधा लिन सक्नेछन्।
नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत डा. तोमरले यस्तो सहकार्यले गुणस्तरीय स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, समावेशी र किफायती बनाउन सहयोग पुग्ने बताए।
एनसेलले यो साझेदारीलाई ग्राहकलाई कनेक्टिभिटीबाहेक दैनिक जीवनसँग सम्बन्धित थप उपयोगी सुविधा उपलब्ध गराउने आफ्नो निरन्तर प्रयासको हिस्सा भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।