काठमाडौं– प्रधानमन्त्री बालेन शाह भोलि बुधबार कालो चस्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्।
प्रधानमन्त्री शाह भोलि बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा उपस्थित हुनेछन्, जहाँ सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर हुनेछ।
सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा नआउन आग्रह गरेका थिए। कालो चस्मा लगाउनुपर्ने अवस्था रहे स्वास्थ्य परीक्षण रिपोर्टसहित कारण खुलाउन उनले आग्रह गरेका थिए।
प्रधानमन्त्रीले कालो चस्मा लगाउनैपर्नाका कारण खुलाएर संघीय संसद सचिवालयलाई पत्र नै लेखेका छन्।
स्वास्थ्य समस्याका कारण कालो चस्मा लगाउनुपरेको भन्दै प्रधानमन्त्रीले बुधबारको संसद् बैठकमा पनि कालो चस्मा लगाएरै उपस्थित हुने भएका हुन्।
प्रधानमन्त्रीले आँखामा समस्याका कारण कालो चस्मा लगाउनुपरेको उल्लेख गर्दै स्वास्थ्य रिपोर्ट नै संसद सचिवालयमा पठाएका हुन्।
उज्यालोमा हेर्न असहज भएको भन्दै प्रधानमन्त्रीले नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा साउन २२ गते आँखा परीक्षण गराएका थिए।
लेफ्टिनेट कर्णेल डा. सचित ढकालले प्रधानमन्त्री शाहको आँखा परीक्षण गरेका थिए।
आँखा परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न कठिन हुन्छ भने आँखा सुक्खा हुने भएकोले बेलाबेला आइड्रपको प्रयोग गरिराख्नुपर्ने पनि रिपोर्टमा उल्लेख छ।
त्यसकारण प्रधानमन्त्रीले कालो चस्मा लगाउनुपर्ने अवस्था रहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएरै जानकारी गराइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।