काठमाडौं– नेपाल टेलिकमले एकैपटक हजारौं टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई बढीमा एक मिनेटसम्मको व्यावसायिक तथा सूचनामूलक जानकारी भ्वाइस म्यासेजका रूपमा पठाउन सकिने सेवा सञ्चालनमा ल्याएको छ।
कम्पनीले ‘बल्क भ्वाइस म्यासेज’ (Interactive Voice Response – IVR) प्रकृतिको सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको जनाएको छ। यसअघि केही समय आन्तरिक प्रयोजनका लागि परीक्षणका रूपमा सञ्चालन गरिएको यो सेवा अब संस्थागत तथा व्यक्तिगत ग्राहकका लागि समेत उपलब्ध गराइएको हो।
नेपाल टेलिकमका अनुसार यो एक प्रकारको सामूहिक सूचना प्रणाली हो। कुनै सूचना, परीक्षाको नतिजा, प्रचारप्रसार वा प्रवद्र्धनात्मक सामग्री एकैपटक धेरै व्यक्तिसम्म पुर्याउन यो सेवा उपयोगी हुनेछ।
सेवा लिन चाहने कार्यालय, व्यवसायी वा अन्य सूचना प्रवाहकर्ताले कल गर्नुपर्ने नम्बरहरूको सूची र सन्देशसहितको भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराउनुपर्नेछ। निर्धारित प्रक्रिया पूरा गरेपछि कम्पनीले सम्बन्धित नम्बरहरूमा स्वचालित रूपमा कल गरी सन्देश पठाउने व्यवस्था गर्नेछ।
यस सेवामार्फत कल प्राप्त गर्ने व्यक्तिको मोबाइल वा टेलिफोनमा सन्देश पठाउने सेवा प्रदायक वा ग्राहकको नाममा दर्ता भएको मोबाइल वा टेलिफोन नम्बर नै कलर आईडीका रूपमा देखिनेछ।
सेवा लिन इच्छुक ग्राहक वा सेवा प्रदायकले हाललाई दूरसञ्चार कार्यालय सुन्धारामार्फत निर्धारित फारम भरी आवेदन दिन सक्ने नेपाल टेलिकमले जनाएको छ।
कम्पनीले स्वचालित रूपमा तोकिएका हजारौं नम्बरमा एकैपटक सूचना प्रवाह गर्न सकिने भएकाले आगामी दिनमा यस सेवाको माग बढ्दै जाने विश्वास व्यक्त गरेको छ।
यस सेवासम्बन्धी थप जानकारी नेपाल टेलिकमको वेबसाइटमा उपलब्ध रहेको प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।