काठमाडौं– नेपाली कांग्रेसको आन्तरिक विवादसँग सम्बन्धित विषयमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका कांग्रेस नेता दीपक खड्काले आफूलाई जोडेर ‘अदालत सेटिङ’ गरिएको भन्दै प्रचार भएकोप्रति आपत्ति जनाएका छन्।
खड्काले मंगलबार सामाजिक सञ्जालमार्फत पार्टीको आन्तरिक जीवनमा भएका केही अन्यायपूर्ण घटनामा न्याय खोज्न आफू सर्वोच्च अदालत पुगेको बताएका हुन्। उनले आफूले सर्वोच्चमा उत्प्रेषण, प्रतिषेध र परमादेशको माग गर्दै अन्तरिम आदेशसमेत मागेर रिट दर्ता गराएको उल्लेख गरेका छन्।
खड्काले अदालतमा न्याय माग्न गएको विषयलाई लिएर आफू र केही व्यक्तिको नाम जोड्दै ‘अदालत सेटिङ’ गरिएको भन्ने प्रचार भएको भन्दै त्यसलाई स्वतन्त्र न्यायपालिकाप्रति अविश्वास पैदा गर्ने नियोजित प्रयासका रूपमा व्याख्या गरेका छन्।
‘न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही व्यक्ति तथा समूहले नियोजित रूपमा अदालत सेटिङ गरेको भन्दै मेरो समेत नाम जोडेर गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्।
उनले उक्त प्रचारलाई ‘कुप्रचार’ भन्दै अदालतको गरिमा घटाउने योजनाबद्ध खेलप्रति खेद व्यक्त गरेका छन्। जिम्मेवार सञ्चारमाध्यमलाई समेत यस विषयमा सचेत रहन उनको आग्रह छ।
के हो ‘अदालत सेटिङ’को विवाद ?
कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमितिले वैधानिकता पाएपछि देउवा–खड्का पक्षले त्यसविरुद्ध सर्वोच्च अदालतमा कानुनी लडाइँ अघि बढाएको थियो। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि देउवा र पूर्णबहादुर खड्का पक्ष सर्वोच्च पुगेको थियो।
गत वैशाख ४ गते न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले निर्वाचन आयोगको निर्णय सदर गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो।
तर उक्त फैसलाविरुद्ध देउवा र पूर्णबहादुर खड्का पक्षले पुनरावलोकन निवेदन दर्ता गरेका थिए। सर्वोच्चको पूर्ण इजलासले साउन २१ गते पुनरावलोकनका लागि निस्सा प्रदान गरेपछि कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा प्रवेश गरेको हो।
पुनरावलोकनको अनुमति पाएपछि देउवा–खड्का पक्षले कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया समेत रोक्नुपर्ने माग गर्दै अदालत जाने तयारी गरेको थियो। यस क्रममा केही दिनअघि देउवा र पूर्णबहादुर खड्काको तर्फबाट वारेसका रूपमा दीपक खड्का र अधिवक्ता श्रवणकुमार श्रेष्ठ सर्वोच्च पुगेका थिए। उक्त निवेदन तत्काल दर्ता नभएपछि सर्वोच्च प्रशासनले थप अध्ययन गर्ने जनाएको थियो।
यसैबीच कांग्रेस केन्द्रीय सदस्य कुसुम थापामगरले खड्कामाथि अदालतमा ‘सेटिङ’ मिलाएको भन्दै गम्भीर आरोप लगाएकी थिइन्। उनले खड्काले अदालतका न्यायाधीश तथा कर्मचारीसँग सम्पर्क मिलाएको र आफूहरूको पक्षमा अन्तरिम आदेश तथा आधिकारिकता आउने दाबी गरेको आफूले सुनेको भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी थिइन्।
खड्काले भने यस्ता आरोपको प्रत्यक्ष खण्डन गर्दै आफूलाई जोडेर गरिएको प्रचारले न्यायपालिकाप्रतिको जनविश्वास कमजोर पार्ने दाबी गरेका छन्। खड्काले आफू न्याय र स्वतन्त्रताका लागि लडिरहेको व्यक्ति भएको भन्दै सर्वोच्च अदालतप्रति आफ्नो विश्वास कायमै रहेको बताएका छन्।
‘न्याय र स्वतन्त्रताको लागि लडेको एक सिपाहीको नाताले सबै अदालतप्रति उत्तिकै विश्वास र भरोसा छ। सम्मानित सर्वोच्च अदालतले न्याय दिनेमा पूर्ण विश्वस्त छु,’ उनले भनेका छन्।
कांग्रेसको आधिकारिकता विवादसँगै आगामी १५औँ महाधिवेशनको प्रक्रियालाई लिएर समेत दुई पक्षबीच कानुनी र राजनीतिक टकराव बढिरहेको छ। सर्वोच्चमा पुनरावलोकनको प्रक्रिया अघि बढिरहँदा संस्थापन पक्षले महाधिवेशन प्रक्रिया नरोकिने बताउँदै आएको छ भने देउवा–खड्का पक्षले कानुनी प्रक्रियाबाट आफ्नो दाबी अघि बढाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।