काठमाडौं–मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ। उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा मुख्य न्यायाधीश गोकर्ण डाँगी र रजिस्ट्रार तारादत्त बडुसहित ६ जना घाइते भएका छन्। मुख्य न्यायाधीश डाँगी र चालक छुनिलाल चौधरीको भने हेटौँडामा उपचार भइरहेको छ।
गम्भीर अवस्थाका चार जनालाई सेनाको हेलिकप्टरबाट उपचारका लागि छाउनी ल्याइएको थियो।
काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जिप आज मंगलबार बिहान करिब ७ बजे जुरीखेतमा अनियन्त्रित भई खोल्सामा खसेको थियो।
रजिस्ट्रार तारादत्त बडू र चालक छुनिलाल चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।