काठमाडौं । मंगलबार सर्वोच्च अदालतको नयाँ भवनबाट एक जना अधिवक्ताले आत्महत्या गर्ने प्रयास गरेका छन्। उनी भवनको छतबाट हामफाल्ने प्रयास गरेका हुन्।
उच्च अदालत हुँदै सर्वोच्च अदालतमा आइपुगेको ठगीसम्बन्धी मुद्दामा आफ्नो विपक्षमा फैसला भएपछि उनले छतबाट हामफाल्ने प्रयास गरेको बताइएको छ। समयमै सुरक्षाकर्मी र अदालतका कर्मचारीले उनलाई उद्धार गरेका थिए।
आत्महत्या प्रयास गर्ने व्यक्ति अधिवक्ता लालबहादुर राई रहेको प्रहरीले जनाएको छ। सोमबार ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला भएपछि राईले ‘सर्वोच्चले आफूलाई हराएको’ भन्दै सुसाइड नोटसमेत लेखेको बताइएको छ।
त्यसपछि उनी सर्वोच्च अदालतको पाँचौँ तल्लामा पुगेका थिए। छतबाट हामफाल्ने प्रयास गरेपछि सुरक्षाकर्मीले तत्काल उद्धार गरेका हुन्। उद्धार गरिएका राईलाई अहिले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको छ।
न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र शान्तिसिंह थापाको इजलासले सोमबार उच्च अदालतको फैसला सदर गर्ने निर्णय सुनाएको थियो।
उक्त मुद्दामा सर्वेश मरासिनी, राजु श्रेष्ठ, खेमराज निरौला, शिव कार्की, राजेश श्रेष्ठ, खुशचन्द्र श्रेष्ठ, लालबहादुर राई, गंगाराम अधिकारी र सैवालकुमार दत्त विपक्षी रहेका छन्। उच्च अदालतको फैसलाविरुद्ध राईले नै सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।
मुद्दा हारेपछि राई सर्वोच्च अदालतको छतमा पुगेका थिए। समयमै सुरक्षाकर्मी र कर्मचारीले उद्धार गरेपछि सम्भावित दुर्घटना टरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।