काठमाडौं– आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेनाबाट ६४ हजार २० फौज परिचालन गरिएको छ।
फौजले मतपत्र छपाइ सुरक्षा, निर्वाचन सामग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षा लगायत निर्वाचन सुरक्षाका लागि तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सुरक्षाको तेस्रो घेराको जिम्मामा रहँदा नेपाली सेनाले कात्तिक २२ गतेयता विभिन्न जिल्लाका ३३ स्थानमा भेटिएका शंकास्पद वस्तु र बम सुरक्षितसाथ डिस्पोज गरेको जानकारी निर्देशनालयले दिएको छ।
खटिएका फौजले पहिलो चरणको निर्वाचनका लागि नेपाली सेनालाई तोकिएका स्थानहरुमा मतपत्र ढुवानी कार्य सम्पन्न गरिसकेको जनाइएको छ। निर्देशनालयका अनुसार, सैनिकहरुले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामध्ये अधिकांश जिल्लामा मतपत्र ढुवानी गरिसकेर बाँकी केही जिल्लामा ढुवानी गरिरहेका छन्।
कारागारको समेत जिम्मा पाएको सेनाले देशका विभिन्न ५३ वटा कारागार र २३ वटा विमानस्थलहरुको सुरक्षा पनि गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।