काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले छोरा प्रकाशमाथि न्याय गर्न नसकेको बताएका छन्।
आइतबार निधन भएका प्रकाश दाहालको स्मृतिमा लाजिम्पाटमा बिहीबार आयोजित श्रद्धाञ्जली सभामा अध्यक्ष दाहालले लिखित मन्तव्य दिएका हुन्।
मन्तव्यमा भावुक झल्किएका दाहालले आफू भूमिगत राजनीतिमा लागेका कारण प्रकाश सामाजिक, आर्थिक र मनोवैज्ञानिक असुरक्षाबीच हुर्किएको उल्लेख गरेका छन्। स्कुल फेर्दाफेर्दै प्रकाशको पढाइ लथालिंग भएको पनि उनले उल्लेख गरेका छन्।
‘अहिले सम्झँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन्, बालकबाट सीधै युवा भए’, अध्यक्ष दाहालले लेखेका छन्, ‘सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुको रुपमा उनीमाथि न्याय गरिनँ, गर्न सकिनँ।’
प्रकाशमा व्यवस्थापनमा दक्षता रहेको भन्दै दाहालले प्रकाशको सहयोगबिना प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल सफल नहुने पनि बताएका छन्।
‘प्रकाश अब छैनन्, तर देशका हरेक युवायुवतीमा हामीले प्रकाशलाई देखेका छौं’, उनले उल्लेख गरेका छन्।
अध्यक्ष दाहालले देशका सबै युवायुवती छोरा प्रकाश समान भएको र तिनको समुन्नत भविष्यका लागि अझ धेरै मिहिनेत गर्नुपर्ने निष्कर्षमा आफू अझ दृढ भएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।