काठमाडौं– घुस खाएर चिम्पान्जी तस्करीमा सहयोग गरेको आरोपमा दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा चुणामणि शर्मा दाहाल र क्वारेन्टाइन कार्यालय, काठमाडौंका नायब सुब्बा (भेटनरी चिकित्सक) धिरेन्द्र साहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरी वन्यजन्त तस्करी तथा संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाएको छ। तस्करीमा सहयोग गरेको आरोपमा विमानस्थल भन्सार कार्यालयले एक महिनाअघि नै नासु दाहालसहित भन्सार अधिकृत आशुतोष राई र अर्का नासु लीला पनेरुलाई निलम्बन गरिसकेको छ।
सिआइबीले विमानस्थलबाटै पास भएका दुईवटा चिम्पान्जी, आठवटा बाँदर र एक सय १२ वटा चरासहित तस्करीमा संलग्न ६ जनालाई ३१ असोजमा पक्राउ गरेको थियो।
तस्करीमा संलग्न सञ्जीव भारती, राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फयन र सरिफ सहिन तथा पाकिस्तानी नागरिक आवेद अस्लामा खानलाई सिआइबीले पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा उनीहरुले भन्सार र क्वाइेन्टाइनका कर्मचारीलाई घुस खुवाएर चिम्पान्जी तस्करी गर्दै आएको खुलेपछि कर्मचारी पनि पक्राउ परेका हुन्।
विमानस्थलका अन्य कर्मचारीहरु समेत छानबिनमा रहेको सिआइबी स्रोतले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।