काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो चुनावी घोषणापत्रमा 'नेपालभित्र सधै मधेस रहनुपर्ने बाध्यता नहुने' प्रस्तावनामा उल्लेख गरेको छ।
महोत्तरीको जलेश्वरमा आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले नेपाल 'बहुराष्ट्रिय देश' भएको समेत उल्लेख गरेको छ। एक राज्य एक राष्ट्र हुनुपर्ने धारणा आदर्शवादी भए पनि सधै व्यावहारिक नहुने राजपाको धारणा छ। राज्यले राजनीतिक संरचनाको संकेत गर्ने र राष्ट्रले भौगोलिक, जातीय, भाषिक एवं अन्य सांस्कृतिक समानता भएका समुदायहरुलाई बुझाउने गरेको घोषणापत्रमा उल्लेख छ।
राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले सार्वजनिक गरेको घोषणापत्रमा भनिएको छ, ‘नेपाल एक बहुभाषिक, बहजातीय, बहुधार्मीक, बहुसांस्कृतिक र बहुराष्ट्रय देश रहेको छ।’ नेपालको दक्षिणतिरको समथर भूमिमा बस्ने मधेसी, थारु, दलित, जनजाति र मुस्लिम शतप्रतिशत नेपाली भए पनि ती सामूहिक रुपमा आफैंमा एक राष्ट्र पनि भएको घोषणापत्रमा उल्लेख छ।
सो समुदायको भूगोल, समान जीवनपद्धति, संस्कृति, सभ्यता एवं मनोविज्ञान भारत, मरिसस र अन्य देशका समुदायसँग मेल खान सक्ने घोषणापत्रमा उल्लेख छ।
यसअघि मधेस अभियान्ताका रुपमा सिके राउतले तराई-मधेसको भूभागलाई छुट्टै राष्ट्र घोषणा गर्नुपर्ने बताउँदै आएका थिए। उनको अभिव्यक्तिसँग मिल्ने गरी राजपाले आफ्नो धारणा घोषणापत्रमा समेटेको छ।
एउटा सार्थक, समावेशी र संघीय संविधान बनाएर राज्य निर्माणको कार्यलाई विधिवत रुपमा संस्थागत गर्न सकिने अवस्था रहे पनि दलहरुको असमावेशी चरित्र, संकीर्ण र नश्लीय सोचले त्यो अवसर गुमाएको भन्दै उसले संघर्ष र विरोधको नयाँ बाटो खोलिदिएको जनाएको छ।
तपाईंहरुको घोषणापत्र सिके राउतको अभिव्यक्तिसँग किन मेल खायो? भन्ने प्रश्नमा राजपा महासचिव मनिष झाले घोषणापत्रको बचाउ गर्दै 'अखण्ड देशभित्र आफ्नो पहिचान खोजेको' रुपमा बुझ्नुपर्ने संक्षिप्त जवाफ दिए।
अलग्गै राष्ट्र भन्दा पनि सबैको भावना समेटिने सिंगो देशभित्रको सानो भूभागको रुपमा घोषणापत्रमा राखिएको उनले बताए।
के छ घोषणापत्रमा?
राजपाले आफ्नो घोषणापत्रमा अति आवश्यक विषयहरुलाई सर्वाधिक महत्वको सूचीमा राखेको छ। पहिचान, स्थान, अधिकार र स्वाभिमानको संघर्षलाई जारी राख्दै देशको चौतर्फी विकास द्रूत गतिमा हुनुपर्ने भन्दै उसले राज्यले होच्याएको, अलपत्र पारेको र पूर्ण रुपमा बेवास्ता गरेको मधेस र थरुहट क्षेत्रको विकासलाई अबको सर्वाधिक प्राथमिकताको विषय बनाउने जनाएको छ।
राजपाले हरेक वर्ष तराई–मधेसको समथर मैदानमा आउने बाढीको स्थायी समाधानका लागि वैज्ञानिक योजना बनाएर बाँध र कल्भर्ट निर्माण गर्ने जनाएको छ। वर्षा यामको पानीको उचित निकास, चुरेभावरको प्रभावकारी संरक्षण एवं व्यापक वृक्षारोपणको कार्यक्रम सञ्चालन गर्ने र तराई मधेसको नागरिकलाई प्रकोपबाट सधैँका लागि मुक्त गर्न सशक्त कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ।
यस्तैगरी सहज आवागमन र सरसामानको ढुवानीका लागि हुलाकी मार्गलाई तराई–मधेस लोकमार्ग नामकरण गर्दै यथाशीघ्र सम्पन्न गरी थप सडक सञ्जालको निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गको समानान्तर आधुनिक रेलमार्गको निर्माण गर्ने राजपाको प्रतिबद्धता छ।
जनकपुर अन्तर्राष्ट्रिय पर्यटन स्थल एवं विश्व हिन्दु केन्द्रलाई प्राथमिकता दिँदै जनकपुरको बृहत् र चौतर्फी विकासका लागि दक्ष र अनुभवी विशेषज्ञहरुको सहयोगमा आधुनिक गुरुयोजना तयार गरिने सो पार्टीले उल्लेख गरेको छ। जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटन र अध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने, विमानस्थललाई सुरुमा क्षेत्रीय र पछि अन्तराष्ट्रिय आधुनिक विमानस्थलको रुपमा स्तरोन्नति गर्ने राजपाको घोषणापत्रमा उल्लेख छ।
वीरगञ्जलाई आधुनिक सहरको रुपमा विकास गर्दै यसलाई बैंकिङ, बिमा, शेयर कारोबार र अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बनाउने, नयाँ उद्योगहरु खोल्न निजी क्षेत्रलाई आकर्षित गर्ने सेवा, सुविधा र छुटको योजना बनाइने, वीरगञ्जलाई विश्वका अन्य व्यापारिक र आर्थिक कारोबार हुने सहरहरुसँग सरकारी स्तरमै जोडिने घोषणापत्रमा समावेश गरिएको छ।विराटनगर, भैरहवा र नेपालगञ्ज नेपालको आर्थिक विकासको मेरुदण्डका रहेको भन्दै राजपा नेपालले निर्बाध विद्युत आपूर्ति, औद्योगिक विकासको व्यवस्थापन, औद्योगिक सडकको निर्माण एवं स्तरोन्नति, श्रमिक विकास, प्राविधिक प्रशिक्षण र राजनीतिक हस्तक्षेपको समाप्ति लगायतका दिशामा ठोस कार्य गर्ने जनाएको छ।
राजविराज, सिरहा, जलेश्वर, मलङ्गवा, गौर, कलैया, नवलपरासी, तौलिहवा, नेपालगञ्ज, तुलसीपुर, गुलरिया र महेन्द्रनगरमा एकीकृत सहरी विकास कार्यक्रम लागू गरी आधुनिक सहरको निर्माण गर्ने प्रतिबद्धता पनि राजपाले जनाएको छ।
सुस्त गतिमा निर्माण हुँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउने राजपाको प्रतिबद्धता छ। सूचना प्रविधि र इन्टरनेटको सेवा उपलब्ध नभएका वा गुणस्तरीय नभएका ठाउँहरुमा सुलभ र सस्तो इन्टरनेट सेवा उपलब्ध गराउने, सरकारी र सार्वजनिक रुपमा सञ्चालित माध्यमिक, उच्च माध्यमिक एवंम् व्यवासायिक शिक्षा केन्द्रहरुमा नि:शुल्क इन्टरनेटको व्यवस्था गर्ने सो पार्टीको घोषाणापत्रमा उल्लेख छ।
उच्च शिक्षा र वैदेशिक रोजगारमा जान चाहने युवाहरुका लागि धरौटीसहित ऋण उपलब्ध गराउने, बैंक र वित्तीय संस्थाहरुलाई कुल ऋण प्रवाहको कम्तिमा एक प्रतिशत युवाहरुको नयाँ कारोबारमा लगानी गर्नुपर्ने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ।
‘महिलाको लागि हरेक उच्च शिक्षा नि:शुल्क गर्ने, हरेक नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा १० हजार रुपैयाँ अनुदान दीर्घकालीन मुद्दती खाता खोली बैंकमा जम्मा गरिनेछ, जुन बालिका १८ वर्ष पुगेपछि आवश्यकता अनुसार ब्याजसहितको एकमुस्ट रकम प्रयोग गर्न सक्नेछन्,’ घोषणापत्रमा भनिएको छ।
कम्तीमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसूत्र वा सो बराबरको रकम प्रदान गर्नेसमेत राजपाले प्रतिबद्धता जनाएको छ।
किसानमैत्री कार्यक्रमलाई जोड दिँदै राजपाले कृषि क्षेत्रको आधुनिकीकरण, नयाँ प्रविधिको प्रयोग, पैदावारको औद्योगिकीकरण, मल खाद्यको सस्तो र सहज उपलब्धता, उत्पादन वृद्धि र विविधिकरण, सरलीकृत कृषि ऋण तथा नयाँ बजार विस्तार आदि उपायहरु अबलम्बन गर्दै किसानको जीवन सुखद बनाउनुको साथै देश विकासमा कृषि क्षेत्रको योगदानलाई वृद्धि गर्ने उल्लेख छ।
वैदेशिक लगानी आकर्षण र निजी क्षेत्रलाई प्रोत्साहन दिन विधिको शासन, नीतिगत स्थिरता, प्रभावकारी अनुगमन, वैदेशिक लगानीको वातावरण निर्माण, राजनीतिक हस्तक्षेपबाट मुक्ति र यथेष्ट प्रोत्साहन प्रदान गर्दै निजी क्षेत्रको विकास, विस्तार र राष्ट्र निर्माणमा योगदान गर्ने सहज स्थितिको सिर्जना गर्ने प्रतिबद्धता पनि राजपाले जनाएको छ।
मधेस र थरुहट आन्दोलनमा शहादत प्राप्त गरेका सहिदको नाममा स्तम्भ र स्मारकको निर्माण गर्ने, सहिद परिवारको उचित हेरचाह, घाइते र अंगभंग भएकाहरुको उपचार र रोजगारीको व्यवस्था गर्ने राजपा नेपालको प्रतिबद्धतापत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।