काठमाडौं- निर्वाचन आयोगले मौन अवधिमा चुनावी प्रचारप्रसार गरेको पाइएमा उम्मेदवारको उम्मेदवारी रद्दसम्मको कारबाही हुने चेतावनी दिएको छ।
मौन अवधि उल्लंघन गर्ने सञ्चारमाध्यम र अन्यलाई भने एक लाखसम्म जरीवाना हुने आयोगका प्रवक्ता नवराज ढकालले बताए।
‘मौन अवधि पालना गर्नु सबैको नैतिक दायित्व हो,’ ढकालले भने, ‘आयोगको चाहना सबैले पालना गरुन भन्ने छ, अनुगमन वा आयोगमा उजुरी उल्लंघनको उजुरी परेमा कडा कारवाही हुन्छ।’
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बिहीबार मध्यरात १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। ती जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज रातिसम्म मात्र चुनावी प्रचार–प्रसार गर्न पाउँछन्।
यो पनि: राति १२ बजेदेखि मौन अवधि सुरु, केके गर्ने पाइँदैन?
मौन अवधिभर राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीहरुले आचारसंहिताविपरीत काम गर्न पाउँदैनन्। सञ्चारमाध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार–प्रसार गर्न पाउनेछैनन्न्।
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा उम्मेदवारले भोट माग्न तथा अन्य प्रचारात्मक काम गर्न पाउनेछैनन्।
आयोगले सञ्चारमाध्यमको पनि अनुगमन गरिरहेको र जिल्लावाट आएका उजुरीहरुलाई हेरेर निर्णय लिने ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।