ताप्लेजुङ- ताप्लेजुङका विकट गाउँमा पुग्न नसकेपछि वाम गठबन्धबाट एमाले उम्मेदवार योगेश भट्टराई र कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले सन्देश रेकर्ड गरी भोट मागेका छन्।
फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत-चीनको सिमानामा छन्। यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन्। याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन्।
यहाँको एक मत सुरक्षित गर्न सुरक्षाकर्मीको खर्चबाहेक निर्वाचन आयोगले मात्र रु ४ हजारभन्दा बढी खर्च गर्नुपर्छ र ३ दिनको एकतर्फी यात्रा गर्नुपर्ने बाध्यता छ।
मुलुककै तेस्रो ठूलो जिल्लाको रुपमा रहेको ताप्लेजुङको आधा भूगोल यिनै २ स्थानले ओगट्छ। कुनै पनि राजनीतिक दलका नेता भोट माग्न त्यहाँ पुग्न सक्दैनन्।
मंसिर १० गते हुने निर्वाचनको प्रचारप्रसारका क्रममा प्रतिनिधिसभाका वाम गठबन्धनका साझा उम्मेदवार भट्टराईले ‘रेकर्ड’ गरेर आफ्ना योजना र अपिल जनतासमक्ष पठाए। यो जिल्लाबाट एक जना मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। प्रतिनिधिसभा सदस्यका लागि कूल ७ उम्मेदवार मैदानमा छन्। प्रदेश ‘क’ र ‘ख’ मा ८/८ जना उम्मेदवार उठेका छन्।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दाहालले पनि रेकर्डमार्फत नै भोट मागे। प्रदेश ‘ख’ मा पर्ने यी ठाउँमा कुनै उम्मेदवार पुग्न सकेनन्। उनीहरुले समेत रेकर्डिङ प्रविधि नै अपनाए।
फुङ्लिङका स्थानीय पत्रकारका अनुसार त्यहाँका मतदाता अन्यत्रै व्यवसायमा रहेकाले मत खसाल्न पनि कमै आउने गर्छन्। मतदाताको संख्याको तुलनामा आधा मात्र मत खस्ने गर्छ। काठमाडौँ र भारतका विभिन्न भागमा रहेर आफ्ना व्यवसाय गर्ने भएकाले उनीहरुलाई मतदान गर्न लगाउन पनि हेलिकप्टरको व्यवस्था गर्नुपर्ने हुन्छ।
मुलुकको सुदूरपूर्वको उत्तर छेउमा पर्ने यस जिल्लाका सबै स्थानका जनतालाई चुनावी अभियानमा सहभागी गराउन अत्यन्त कठिन भएपनि निर्वाचन आयोगले त्यहाँका जनताको मताधिकारलाई सम्मान गर्दै आएको छ। आयोगले मंगलबार नै त्यहाँका लागि निर्वाचन टोली पठाइसकेको छ।
जिल्लाका प्रमुख निर्वाचन अधिकृत कृपाशुर कार्कीका अनुसार उक्त निर्वाचन क्षेत्रका लागि मतदान अधिकृत पठाइसकिएको छ। आवश्यक पर्ने सबै सामग्रीसहित निर्वाचन टोली बिहीबार त्यहाँ पुगेको छ।
ती स्थानमा पुग्न सदरमुकामबाट तीन दिन लाग्छ। त्यहाँबाट मतपेटिका ल्याउन हेलिकप्टर चार्टर गर्नुपर्ने भएकाले अत्यन्त खर्चिलो हुन्छ। जनताका मताधिकार सुरक्षा गर्न निर्वाचन आयोग कटिबद्ध रहेको मुख्य निर्वाचन अधिकृत कार्कीको भनाइ छ।
निर्वाचन आयोगले यहाँका अतिविकट स्थानका एक हजार ३२१ मतदाताका लागि नगद रु १५ लाख ८५ हजार, सुरक्षाकर्मी बाहेक ७३ जना कर्मचारी र ३ दिनको एकतर्फी यात्राको प्रबन्ध मिलाउनुपर्छ। मतदाताको मत सुरक्षित गर्ने दायित्व पूरा गर्न ठूलो रकम, जनशक्ति र समय खर्चेर थोरै मत संकलन गर्नुपरेको यथार्थ निर्वाचन अधिकृत कार्की सुनाउँछन्।
यो निर्वाचन केन्द्रबाट स्थानीय तह निर्वाचनका बेला मत खसाल्न पाउने मतदाताको संख्या ४० रहेको थियो भने २९ मत मात्र खसेको थियो।
जिल्लाको कूल जनसंख्या एकलाख ९१ हजार ८१७ रहेको छ भने कूल मतदाता ७९ हजार ३९७ जना छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।