काठमाडौँ- मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। पहिलो चरणको ३२ जिल्लामा हुने निर्वाचनमा यो आचारसंहित लागू हुनेछ।
मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाइँदैन। यस्तै, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
पहिलो चरणको निर्वाचनका लागि मौन अवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको प्रसारप्रसार भने जारी रहनेछ। पहिलो चरणको निर्वाचनको मौन अवधिमा समाचार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ।
के गर्न पाइँदैन?
- निर्वाचन आचारसंहिताको मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन
- मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्छ
- सामाजिक सञ्जाल (एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम) मार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न हुँदैन
- उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।