काठमाडौं- राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पन्ध्रौं पञ्चवर्षीय योजनाको आधारपत्र मन्त्रिपरिषद् पठाउने निर्णय गरेको छ। आइतबार बसेको आयोगको पूर्ण बैठकले मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको हो।
बैठकले आगामी ५ आर्थिक वर्षका लागि पन्ध्रौं पञ्चवर्षीय योजनाको आधारपत्र स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरेको आयोगका सहसचिव डा. किरण रुपाखेतीले जानकारी दिए।
पन्ध्रौं आवधिक योजनाको आधारपत्र विकास परिषद्बाट गत चैत २१ गते नै पारित भइसकेको छ।
आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने आवधिक योजनाको मस्यौदामा विकास परिषद्बाट आएका सुझावसमेतलाई समावेश गरी मन्त्रिपरिषदबाट पारित गर्न स्वीकृत गरेको डा. रुपाखेतीको भनाइ छ।
साथै उक्त बैठकले चालु आर्थिक वर्षको निती तथा कार्यक्रममा समावेश गरिएको राष्ट्रिय तथ्यगत विवरण प्रणालीको पनि औपचारिक शुरुवात गरेको छ। उक्त प्रणाली प्रधानमन्त्री योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन्।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा बुँदा नंम्बर २० मा ‘अबको हाम्रो विकास सूचना तथा तथ्याङ्कको गहन विश्लेषण, अनुसन्धान र प्रमाणमा आधारित हुनेछ। त्यसका लागि देशको भुगोल, प्रकृति, श्रोत साधन, क्षमता र सम्भावनाका सम्पूर्ण सुचनाको राष्ट्रिय तथ्यगत विवरण तयार गरिनेछ भनी उल्लेख गरेको थियो।
यसैबीच, वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार आयोग मातहत रहेको केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको राष्ट्रिय तथ्यगत विवरण प्रणालीको डाईनामिक अनलाईन पोर्टलको समेत प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन्।
सरकारी निकायबाट उत्पादित स्थानीय, प्रदेश र केन्द्रीयस्तरका सूचना तथा तथ्याङ्कलाई एकीकृत गरी वितरण गर्ने उद्देश्यले यो पोर्टल सुरु गरिएको योजना आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।