काठमाडौैं – पूर्वसभासद् सरला रेग्मीसहित १२ जनालाई काठमाडौं प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ । चुनावविरोधी गतिविधिमा लागेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी मुद्दा अघि बढाएको हो । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओावदीमा आबद्ध भएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामाका बुबा मणिक लामालाई पनि प्रहरीले मुद्दा चलाएको छ । उनी नेकपासँग आबद्ध थिए।
पक्राउ पर्ने अन्यमा लक्ष्मी कुमार रायमाझि, लोक प्रसाद गौतम, पुष्प कुमार भण्डारी, जितेन्द्र महर्जन, बसन्तराज भेटवाल, धुव्र केसी लगायत छन् । त्यस्तै पत्ररकाहरु दिपेश शाही र खेमराज थपलियालाई पनि नेकपाकै कार्यकर्ता भएको भन्दै प्रहरीले थुनामा राखी कारबाही अघि बढाइएको छ । सम्भावित घटना रोक्न उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले बताए।
नेकपाले देशभरी हिंसात्मक घटना बढाएपछि सोमबारदेखि प्रहरीले सो पार्टीका नेता तथा कार्यकर्ताविरुद्ध आक्रामक कारबाही थालेको छ । बुधबारसम्म करिब चार सय नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरीसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।