काठमाडौं– निर्वाचन आयोगले मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनपछि मतपेटिका सुरक्षाका जिम्मेवारी मुख्य निर्वाचन अधिकृतलाई दिएको छ।
३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि मतपेटिकाको सुरक्षाबारे राजजीतिक दलहरुले प्रश्न उठाइरहेको बेलामा आयोगले यस्तो निर्णय गरेको हो।
मुख्य निर्वाचन अधिकृतसहित सबै राजनीतिक दलका प्रतिनिधि, निर्वाचन अधिकृत र सुरक्षाकर्मीको निगरानीमा मतपेटिका राख्ने व्यवस्था मिलाउन सबै जिल्लामा निर्देशन दिइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।
‘दोस्रो चरणको निर्वाचनपछि एकै पटक मतगणना गर्नक सुरक्षामा कुनै कमी हुन दिइनेछैन’, प्रवक्ता ढकालले भने, ‘सुरक्षाको सम्पूर्ण जिम्मेवारी मुख्य निर्वाचन अधिकृतलाई दिइएको र आवश्यक परेमा सेनाको सुरक्षा समेत लिन सक्ने अधिकार दिइएको छ।’
पहिलो चरणको निर्वाचन आउन चार दिन बाँकी रहँदा आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। जिल्लामा राजनीतिक दलहरुका प्रतिनिधिसँग निर्वाचन सुरक्षा तथा निर्वाचनका लागि आवश्यक सामग्रीहरुको ढुवानी सम्पन्न भइसकेको प्रवक्ता ढकालले बताए।
निर्वाचन सुरक्षाबारे पनि आयोगले सुरक्षा निकायसँग छलफल गरेको ढकालले बताए।
‘मतदातालाई निर्धक्क भएर मतदानस्थलसम्म पुग्न आवश्यक सुरक्षा र शान्तिपूर्ण मतदान गर्न सक्ने वातावरण हुनेछ’, ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।