चितवन- भरतपुर महानगरपालिका वडा नं २ स्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घरपछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दूधको क्यानमा ग्रिनेट राखेर बनाइएको सानो बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो।
बम निष्क्रिय पार्दा धुवाँ मात्र आएकाले तर्साउनका लागि बम राखिएको उनले बताए। बिहान सर्वसाधारणले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए।
पाण्डे चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्। उनको निवासअगाडि आफ्नै रेडियो कालिका एफएम र टिभी कालिका छ भने पछाडि कालिका कन्स्ट्रक्सन छ। घर र कन्स्ट्रक्सनको बीचमा रहेको नहरको डिलमा बम राखिएको थियो। सेनाले पानी नभएको नहरमा बम झारेर निष्क्रिय पारेको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।