काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा व्यवस्थाको उचित प्रबन्ध गर्न आवश्यक रहेको बताएको छ।
निर्वाचन आयोगका पदाधिकारीसँग सोमबार भएको छलफलमा आयोग अध्यक्ष अनुपराज शर्माले निर्वाचनमा सुरक्षाको उचित प्रबन्ध गर्न आवश्यक रहेको बताउँदै मतदाता शिक्षालाई प्रभावकारी बनाउन जोड दिएका थिए।
अध्यक्ष शर्माले निर्वाचनको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोगबाट २ सयभन्दा बढी जनशक्ति खटाउने जानकारी समेत गराएका थिए।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, भयरहित र मितव्ययी बनाउन आयोग गम्भीर रहेको बताए। निर्वाचनमा भोटिङ मेसिन प्रयोग गर्ने सम्बन्धमा विभिन्न अध्ययन भए पनि सीमित समयका कारण त्यो सम्भव हुन नसकेको प्रमुख आयुक्त यादवको भनाइ थियो।
अघिल्ला निर्वाचनको तुलनामा यस पटक निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग, भोजभतेर आयोजना र आचारसंहिता उल्लंघनका अन्य घटनामा कम देखिएको प्रमुख आयुक्त यादवको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।