काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लाजिम्पाट पुगेर प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
चुनावी सभाका लागि केही दिनअघि सुदूरपश्चिमको भ्रमणमा गएका प्रधानमन्त्री देउवा धनगढी हुँदै सोमबार राजधानी आए लगत्तै लाजिम्पाट पुगेका थिए। प्रधानमन्त्रीले प्रकाशका पिता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटेर समवेदना प्रकट गरेका थिए।
यस्तै, झापाबाट सोमबार बिहान राजधानी फर्केका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि दाहाल निवास लाजिम्पाट पुगेर प्रकाशको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

एमाले नेता ओली पत्नी राधिका शाक्यसहित पुगेका थिए। ओलीले प्रचण्डसँगको भेटमा गहिरो शोक व्यक्त गर्दै समवेदना पनि प्रकट गरेका छन्।
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसँगै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यक्ष दाहाललाई भेटेका थिए।
प्रचण्डपुत्र प्रकाशको आकस्मिक हृदयघातका कारण आइतबार बिहान निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।