महेन्द्रनगर, धनुषा- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई प्रदेश नं २ को राजधानी बनाउन नेपाली कांग्रेसभित्र गृहकार्य सुरु भइसकेको बताएका छन्।
धनुषा क्षेत्र नं ३ प्रतिनिधिसभाका उम्मेदवार निधिले चुनावी प्रचारप्रसारका क्रममा जनकपुर उद्योग वाणिज्य संघमा आयोजित चुनावी सभामा बोल्दै जनकपुरलाई प्रदेशको राजधानी बनाउन कांग्रेसले केन्द्रमा लबिङ सुरु गरिसकेको जानकारी गराए। 'प्रदेशको राजधानी बनाउनु चानचुने कुरा होइन। गम्भीर प्रयास र सहयोगको खाँचो छ र जनकपुरलाई राजधानी बनाउन म लागिपरेको छु,' उनले भने।
प्रदेश नं २ को राजधानी बनाउनु आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै उनले थपे, 'राजधानी बनाउन पूर्वाधार आवश्यक हुन्छ, केही व्यापारीले जनकपुर चुरोट कारखानाको सम्पत्ति खरिद गर्ने प्रयास गरिरहेको बेला स्थानीय प्रशासनको मातहतमा ल्याएको छु।'
निधिले जटही–ढल्केबर व्यापारिक मार्ग निर्माण कार्य जारी रहेको बताउँदै निर्माण कार्य पूरा हुनासाथ जनकपुर व्यापारिक केन्द्र बन्ने निश्चित रहेको बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।