हरारे (एजेन्सी)– जिम्बाबेको सत्तारुढ पार्टी जानु–पिएफले आइतबार राष्ट्रपति रोबर्ट मुगाबेलाई अध्यक्ष पदबाट बर्खास्त गरेको छ र उनको स्थानमा पूर्व उपाध्यक्ष एमर्सन मननगाग्वालाई नयाँ नेता नियुक्त गरेको छ।
बिबिसीका अनुसार मुगाबेले दुई साता पहिले मननगाग्वालाई उपाध्यक्ष पदबाट बर्खास्त गरेका थिए। जसका कारण जिम्बाबेको राजनीतिमा कल्पना गर्न नसकिने घटनाको सुरुवात भएको थियो।
मुगाबे आफ्नो स्थानमा श्रीमती ग्रेसलाई पदमा राख्न चाहन्थे, जसलाई सेनाले अस्वीकार गरेको थियो। जिम्बाबेको सेनाले गत साता सत्ता आफ्नो हातमा लिएको थियो। संसदको अघिल्लो सत्रमा मुगाबेविरुद्ध महाअभियोगको प्रस्ताव पेश हुने सम्भावना बलियो छ।
बेलायतबाट प्रकाशित हुने पत्रिका गार्जियनका अनुसार राष्ट्रपति मुगाबेले समस्या समाधानका लागि आफ्ना नजिकका एक मित्र तथा क्याथोलिक पादरीलाई सेनासँग वार्ता गर्न अह्राएका छन्।
मुगाबेविरुद्ध सेनाको समर्थनमा हजारौंको संख्यामा नागरिकहरु सडकमा उत्रिएका छन्। बिबिसीले मुगाबेकी श्रीमती तथा प्रथम महिलालाई पनि पार्टीबाट निष्कासित गरेको बताएको छ। यसको औपचारिक घोषणा हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।