काठमाडौं– नागरिक समाजका अगुवाहरुले निर्वाचन आचारसंहिता पालना गराउनेबारे गम्भीर बन्न निर्वाचन आयोगसँग आग्रह गरेका छन्।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समय नजिकिँदै जाँदा आचारसंहिता उल्लंघनका घटना बढेको भन्दै नागरिक अगुवाहरुले आचारसंहिता पालना गराउन आयोग डराउन नहुनेमा जोड दिए।
आयोगले नागरिक समाजका अगुवासँग गरेको अन्तरक्रियामा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले संवैधानिक दायित्व अनुसार आयोगले आचारसंहिता पालना गराएर सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए। यस्तै, पूर्व मुख्यसचिव विमल कोइरालाले राजनीतिक दललाई आचारसंहिताको दायराभित्र ल्याउनुपर्ने सुझाव दिए।
पूर्व निर्वाचन आयुक्त डा रामभक्त ठाकुरले आचारसंहिताको पालना गर्ने विषयमा अडानमा बस्न आयोगलाई सुझाव दिए। त्यस्तै, प्राध्यापक कृष्ण खनालले निर्वाचन आयोगले आफ्ना गतिविधि प्रविधिमैत्री बनाई छिटो–छरितो रुपमा कार्यसम्पादन गर्न सुझाव दिए।
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन सफल बनाउन सबैको जिम्मेवारी महत्वपूर्ण हुने उल्लेख गरे भने पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगले तीन वटा मतपत्र तयार गरेकाले मतदातामा पर्ने अन्यौल हटाउन आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा लोकसेवा आयोगका पूर्व अध्यक्ष तीर्थमान शाक्यले निर्वाचन प्रचारप्रसारको शैलीमा सुधार आएको भए पनि बदलिँदो समयअनुसार आचारसंहितालाई परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा प्रा. डा. नोबल किशोर राई, चन्द्रकान्त ज्ञवाली, दामोदर गौतम, गणेशकुमार मण्डल, कमलेश अग्रवाल, उद्वव प्याकुरेल र इन्द्र अधिकारीले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन सुझाव दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आसन्न निर्वाचन सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए। उनले मतदाता शिक्षा, आचारसंहिता र सुरक्षाको विषयलाई आयोगले गम्भीर रुपमा लिएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।