काठमाडौं– नेपाली कांग्रेसले लोकतान्त्रिक शक्तिको पक्षमा जनलहर देखिएपछि सुनियोजित रुपमा आफ्ना उम्मेदवारमाथि आक्रमणको घटना बढेको ठहर गरेको छ।
कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार नुवाकोटमा पूर्व अर्थमन्त्री रामशरण महतमाथि र आज वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको आक्रमण कांग्रेसप्रति जनलहर देखेर आत्तिएको समूहले सुनियोजित रुपमा गरेको भनिएको छ।
‘कांग्रेस र लोकतन्त्रप्रतिको उर्लंदो अपार जनलहरबाट अत्तालिएर दिनानुदिन कांग्रेसका नेतालाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले प्रहार भएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘आपराधिक मानसिकता बोकेका सुनियोजित समूहले बारम्बार यस प्रकारका आक्रमण गर्नु अत्यन्त दुःखद विषय हो।’
विज्ञप्तिमा जुनसुकै समूहले यस्ता घटना गरेको भए पनि पार्टी पंक्ति यसबाट रत्तिभर विचलित नहुने भनिएको छ। बम विस्फोटको घटनाको निन्दा गर्दै लुकेर गरिने यस्ता कार्य घृणित भएको कांग्रेसले टिप्पणी गरेको छ।
‘नेता पौडेलको नै हत्या गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा गर्दछ’, विज्ञप्तिमा थप भनिएको छ, ‘यस घटनाले लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ।’
कांग्रेसले यस्ता घटना पुनः नदोहोरियोस् भन्दै चेतावनी समेत दिएको छ। आफैं सरकारको नेतृत्व गरिरहेको उसले आक्रमणको घटनाका दोषीलाई कानुनी कारबाहीमा ल्याउने विषयमा माग गरेको छ।
‘घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडाभन्दा कडा कारबाही गर्न र घाइतेको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।