काठमाडौं- सुरुङ निर्माण अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाले राजधानीमा आउँदो बैशाखसम्ममा पानी ल्याइपुर्याउने तयारी गरेको छ।
मेलम्चीको पानी उपत्यकामा वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्रको परीक्षण सफल भएको आयोजनाले जनाएको छ।
सुन्दरीजलमा निर्माण भएको आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्रका ६ वटै कक्षको परीक्षण पूरा भएको हो। वाग्मतीको पानी लगेर प्रशोधन केन्द्र परीक्षण गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए।
अर्को प्रशोधन केन्द्र निर्माण पनि ०७५ भदौ मसान्तसम्ममा सक्ने आयोजनाको लक्ष्य छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट २७ किलोमिटर लामो सुरुङ मार्ग मार्फत दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइँदै छ।
सुरुङको सुन्दरीजल–सिन्धु नौ किलोमिटर मार्ग खनेर सकिएको छ भने सिन्धु–ग्याल्थुम र ग्याल्थुम–अम्बाथानको १.९० किलोमिटर सुरुङ मात्र खन्न बाँकी छ।
'कमजोर चट्टानका कारण सुरुङ खन्न केही ढिलो भए पनि ढिलोमा चैत अन्तिम साता अथवा बैशाख पहिलो हप्तासम्म पानी राजधानी आइपुग्छ', निर्देशक देवकोटाले बताए।
उपत्यकामा पानी वितरणका लागि के छ व्यवस्था ?
मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरेपछि उपत्यकामा वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिछ्याउने काम अन्तिम चरणमा पुर्याएको जनाएको छ।
थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ६५ किलोमिटरको काम पूरा भएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए। यसैगरी उपभोक्ताको घर-घरमा पानी पुर्याइने वितरण सञ्जालको ६७० किलोमिटरमध्ये ६२० किलोमिटरको काम सकिएको छ।
बाँकी ५० किलोमिटरमध्ये पुस मसान्तसम्म पहिलो चरणको वितरण सञ्जाल निर्माण सम्पन्न गरिसक्ने आयोजनाको लक्ष्य छ। दोस्रो चरणमा थप वितरण सञ्जालको पाइप बिछ्याउन काम थाल्ने तयारी गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।