रसुवा– चीनको केरुङ नाकाबाट नेपाल ल्याइएको १७ किलो सुनसहित प्रहरीले एक जनालाई टिमुरेबाट पक्राउ गरेको छ।
शनिबार बिहान बा ११ च ७९१८ नम्बरको बोलेरो गाडीमा फल्स बटम बनाई लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको हो। पक्राउ पर्नेमा रसुवाको पार्वतीकुण्ड गाउँपालिका वडा नम्बर ५ का ३१ वर्षीय कर्साङ दावा तामाङ छन्।
तामाङको साथबाट बरामद गरिएको सुनको मूल्य करिब रु ७ करोड ८४ लाख रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक क्षेत्रीले बताए।

सीमा प्रहरी चौकी टिमुरेमा चेकजाँचका क्रममा तामाङलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए।
ट्वाइलेट पेपर र सर्फ बोकेर आएको उक्त बोलेरोमा सुन ल्याइएको विशेष सुराकीको आधारमा चेकजाँच गर्दा अवैध सुन भेटिएपछि तामाङ पक्राउ परेका हुन्। सुन बरामद हुनासाथ प्रहरीले बिहानै रसुवाको टिमुरेस्थित घट्टे खोलामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो।
प्रहरीले पाँच दिनअघि रसुवागढी नाकाबाट उक्त बोलेरो गाडी केरुङ गएदेखि प्रहरीले निगरानीमा राखेको थियो।
सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि पछिल्लो समय रसुवागढी नाकाबाट सुन तस्करी बढेको पाइएपछि रसुवामा सुरक्षा निकायले सीमानाकामा चेकजाँचमा कडाइ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।