रौतहट- रौतहटमा उम्मेदवारहरु यतिबेला फरकफरक शैलीमा भोट माग्न व्यस्त छन्। कोही मकै गोडिरहेका भेटिन्छन् त कोही बिरामी जाँचिरहेका। गाडीमा भोजपुरी गीत घन्काएर हिँडिरहेका उम्मेदवार पनि भेटिए।
निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि १८ जना उम्मेदवार छन्। यहाँ वाम गठबन्धनबाट डा. वंशीधर मिश्र, कांग्रेसका देवप्रसाद तिमल्सेना र राजपा नेपालका कन्थमणि जयसवालको बढी छ।
थारु, पहाडी र मधेसी समुदायको बसोवास रहेको यस क्षेत्रमा वाम गठबन्धनलाई पछाडि पार्ने रणनीतिका साथ कांग्रेस उम्मेदवार घरदैलोमा व्यस्त छन्। गठबन्धनका उम्मेदवार पनि मत आफ्नो पक्षमा पार्न भोट फकाइरहेका छन्।
'म किसान परिवारबाटै राजनीतिमा लागेको हुँ,' खेतमा मकै गोड्दै गरेको अवस्थामा भेटिएका कांग्रेस उम्मेदवार तिमल्सेनाले भने। २०४६ सालको जनआन्दोलनदेखि नै सक्रिय राजनीतिमा रहेका उनी २०४८ मा डुमरिया गाउँ सभापति भए। क्षेत्रीय सभापति हुँदै पटकपटक महाधिवेशन प्रतिनिधिसमेत रहेका ४८ वर्षीय तिमल्सेना शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी र कृषि क्षेत्रको विकास चुनावी एजेन्डा रहेको बताउँछन्।
२०७० सालको संविधानसभा निर्वाचनमा एमालेका उम्मेदवारसँग थोरै मतले पराजित भएका तिमल्सेना यस पटक आफूलाई जनताको जिताउनेमा विश्वस्त छन्।
वाम गठबन्धनका उम्मेदवार डा. मिश्रलाई पनि टोलटोलमा बिरामी जाँच्न भ्याइनभ्याई छ। उनी मतदाताको स्वास्थ्य परीक्षण गर्दै भोट आफूलाई दिन फकाइरहेका छन्।
घरदैलोमा जाँदा बिरामी भेटेपछि आफूले उपचार र परामर्श दिने गरेको उनी बताउँछन्। आफू जनतालाई आश्वासन बाँड्न नआएको उनले बताए। उनले पनि स्वास्थ्य, बेरोजगारी समस्या, कृषि, खानेपानीकै चुनावी एजेन्डा सुनाए। वाम गठबन्धनले जितेपछि देशमा एउटै स्थायी सरकार बन्ने र विकासले गति लिने मिश्रको बताउँछन्।
मिश्र र तिमल्सेनाबीच नै कडा प्रतिस्पर्धा हुने दुवै पार्टीका अगुवा कार्यकर्ताहरुको बुझाइ छ।
व्यापार संघमा लामो समय काम गरेर कांग्रेसबाट माओवादी केन्द्र हुँदै राजपा प्रवेश गरेका उम्मेदवार जयसवाल भने गाडीको लावालस्करसहित ठूला स्पिकरमा भोजपुरी गीत घन्काउदै मतदाताको घरदैलोमा छन्। ४ नम्बर क्षेत्रमा मतदाताको संख्या करिब ८२ हजार रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।