सिएनएन- १५औँ शताब्दीमा युरोपमा चलेको दास प्रथा अझै उन्मूलन नभएको तथ्य फेला परेको छ। लिबियाबाट युरोपमा काला रङका मानिस बिक्री हुने गरेको तथ्य सार्वजनिक भएपछि दास प्रथा उन्मूलन हुन नसकेको घटना बाहिरिएको हो।
शरणार्थीका रुपमा युरोप छिर्ने अफ्रिकनहरु ४० हजार रुपैयाँदेखि ४८ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको अनुसन्धानबाट खुलेको छ। अफ्रिकन नागरिकलाई दासका रुपमा बिक्री गर्न गिरोह नै सक्रिय छन्। युरोपमा कृषि क्षेत्रमा काम गर्नका लागि दह्रा र खदिँला अफ्रिकीहरु अझै पनि बिक्री हुने गरेका हुन्।
लिबियाको राजधानी त्रिपोलीमा उनीहरुको मोलमोलाइ भइरहेको दृश्य सिएननले सार्वजिनक गरेको छ। ६ मिनेटमा १२ जना मानिस बिक्री भएको तथ्य बाहिरिएको हो। 'कसलाई खाल्डो खन्ने मानिसको आवश्यकता छ मसँग २२ जना छन्, ल मोलमोलाई गर्नुस्,' एक दलाल युरोपियनसँग दलाली गरिरहेको छ।
तीन मिनेटमै ४५ हजार रुपैयाँ तिरेर युरोपियनले एक अफ्रिकनलाई लिएर गएको दृश्य सिएननले प्रशारण गरेको हो।
दक्षिण अफ्रिकाबाट युरोप छिर्नका लागि लिबिया प्रवेश गर्नेहरु बिक्री हुने गरेका छन्। युरोप छिर्नका लागि अफ्रिकन नागरिकले दलाललाई पैसा बुझाउने गरेका छन्। पैसा लिएकै दललाले उनीहरुलाई दासका रुपमा युरोपमा बिक्री गर्ने देखिएको छ।

२१ वर्षीय नाइजेरियन युवक भिक्टोर दलालको पछि लागेर युरोप छिर्न लागेका थिए। ती दलालले उनलाई लिबियामा ल्याएर बिक्री गरेका थिए। भिक्टोरको परिवारले दलाललाई २ लाख ७० हजार रुपैयाँ फिरौती बुझाएपछि मात्रै उनी रिहा भए।
'मैले युरोप छिर्नका लागि दलाललाई पैसा बुझाएको थिएँ, सिमानामा आएपछि उसले अझै रकम माग गर्यो। मैले बुझाउन नसक्दा मलाई बेच्यो। उसलाई २ लाख ७० हजार रुपैयाँ दिएपछि मलाई रिहा गराइदियो,' भिक्टोर भन्छन्।
मानव तस्करी र दासका रुपमा बिक्री हुनेबारे सचेतना फैलाउने काम सरकारी निकायबाट भइरहे पनि अझै नियन्त्रण भएको छैन। मानव तस्करीका लागि र दासका रुपमा बिक्री गर्नका लागि गिरोह नै सक्रिय रहेकाले नियन्त्रण मुस्किल भएको लिबिया सरकारले सिएननलाई बताएको छ।
गत वर्ष अपराध सम्बन्धी अन्तर्राष्ट्रिय अदालतले आप्रावसीहरुको अन्तर्राष्ट्रिय संगठनको सूचनापछि अनुसन्धान गरेको थियो। त्यसबेला न्यून संख्यामा दासका रुपमा मानिस बिक्री भएको पाइए पनि अहिले भने सामान जसरी नै मोलमोलाई गरेर दक्षिण अफ्रिकी नागरिकहरु बिक्री हुने गरेको भेटिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।