काठमाडौँ – निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने जनाएको छ।
मतगणनास्थल सकेसम्म विद्यालयमा नराखी पाँच दिनभित्र निर्वाचनका मतपरिणाम सार्वजनिक गर्ने आन्तरिक तयारीमा आयोग जुटेको छ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भने, “प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने छ, छिटोभन्दा छिटो मतपरिणाम सार्वजानिक गर्न मतगणनास्थलमा मतगणकको आवश्यक व्यवस्थामा मिलाईएको छ।”
शिक्षासित सम्बद्ध विभिन्न नौ संघसंस्थाद्वारा आज यहाँ आयोजित शान्ति क्षेत्रका लागि नागरिक अपिलमा आफ्नो लिखित प्रतिबद्ध व्यक्त गर्दै अन्य भौतिक संरचना नभएका कारण विद्यालयमा मतदानस्थल राख्नुपर्ने आयोगसित बाध्यता रहेको बताए।
उनले राजनीतिक दलले निर्वाचनका सन्दर्भमा विद्यालयमा आमसभा, अन्तक्र्रिया, भोजभतेरजस्ता कार्यक्रम राख्न आचारसंहिताले प्रतिबन्ध लगाएको चर्चा गर्दै यसको प्रभावकारी कार्यान्वयन आयोगले गरिराखेको बताए।
प्रमुख निर्वाचन आयुक्त डा यादवले ‘विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने कुरा राजनीतिक दलले आफ्नो प्रतिबद्धता जनाइसकेका विषय हुन्, अब कार्यान्वयनको खाँचो मात्र रहेको उल्लेख गरेका छन्।
“अभिभावक, शिक्षक÷शिक्षिकाले आफ्ना बालबालिकालाई राजनीतिक दलको सभा, जुलुस, ¥यालीमा जानु हुँदैन, विद्यालयमा यस किसिमका गतिविधि पनि गर्नुहुन्न भन्ने कुरालाई प्रभावकारी रुपमा भन्नुपर्छ”, उनले भने।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्माले स्थानीय निकायका निर्वाचनमा १८ जिल्लामा निर्वाचन आचारसंहिता विपरीत निर्वाचनमा विभिन्न सन्दर्भमा बालबालिकाको प्रयोग भएको आयोगको अनुगमनमा भेटिएको जानकारी दिए।
शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले निर्वाचनका समयमा विद्यालय र बालबालिकालाई कम प्रभाव पर्न विभागले ध्यान दिएको चर्चा गर्दै निर्वाचनका समयमा दिइने बिदालाई हिउँदे÷बर्खे बिदाबाट कटौती गर्न निर्देशन दिइएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।