काठमाडौँ – छैटौँ राष्ट्रिय कर दिवसका अवसरमा सरकारले आर्थिक वर्ष २०७२÷७३ मा विभिन्न विधामा सबैभन्दा बढी राजश्व दाखिला गर्ने १५ करदातालाई सम्मान गरेको छ।
सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसी तथा निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता भर्सेन्ड टेक्नोलोजिज प्रालिका वरिष्ठ वित्त व्यवस्थापक सन्तोष कोइरालालाई सम्मान गरिएको छ।
त्यसैगरी, उद्योगमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने हिमाल पावर लिमिटेड, कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये आयकर तिर्ने करदाता राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड, सहकारी संस्थामध्ये सबैभन्दा बढी कर तिर्ने करदाता राष्ट्रिय सहकारी बैंक र बैंक तथा वित्तीय संस्था तथा लघु वित्तमध्ये हिमालय बैंक लिमिटेडलाई सम्मान गरिएको छ।
बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवातर्फ त्रियोग उच्च मावि, सूचना प्रविधि सेवातर्फ वल्र्ड कम्युनिकेसन प्रालि, पर्यटन व्यवसायतर्फ टाइगर टप्स प्रालि, व्यापार व्यवसायतर्फ सिप्रदी ट्रेडिङ प्रालिले सबैभन्दा बढी कर तिरेका छन्।
त्यसैगरी, रु पाँच करोडसम्मको कारोबार भएकामध्ये सबैभन्दा बढी कर तिर्ने साना करदाता डा उपेन्द्र देवकोटा, रु ४० करोडसम्मको कारोबार भएका मझौला करदातामध्येबाट सबैभन्दा बढी कर तिर्ने गोर्खा डेभलपमेन्ट बैैंक, व्यक्तिगत आयकरमध्ये सबैभन्दा बढी कर तिर्ने सिद्धार्थ शम्शेर र समयमै कर बुझाउने पवनकुमार इन्टरनेशनललाई पनि सम्मान गरिएको हो।
विभागमा कार्यरत उत्कृष्ट दश कर्मचारीलाई जनही रु पाँच हजार प्रदान गरिएको थियो भने कर दिवसका अवसरमा आयोजित निबन्ध प्रतियोगिताका विजेता एलिसा लामिछाने र कविता प्रतियोगिताका विजेता अस्मिता मरासिनीलाई रु २५ हजार नगद प्रदान गरिएको थियो।
हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः करदाता सेवा कार्यालय न्यूरोड, आन्तरिक राजश्व विभाग लाजिम्पाट र आन्तरिक राजश्व कार्यालय बबरमहललाई पनि पुरस्कार वितरण गरिएको थियो।
मुख्य सचिव लोकदर्शन रेग्मीले मुलुकलाई सन् २०२२ भित्र अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका साथै दिगो विकासको लक्ष्य हासिल गर्दै सन् २०३० भित्र मध्यम आय भएको मुलुकको कोटीमा पु¥याउनुपर्ने अभिभारा सरकारमा रहेको बताए।
उक्त लक्ष्य प्राप्तिका लागि मुलुकमा ठूलो आर्थिक स्रोत परिचालन आवश्यक भएको उनले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।