काठमाडौं– सर्वोच्च अदालतले मुद्दाको कार्यवोधलाई ध्यान दिँदै समयावधि बढाउने निर्णय गरेको छ।
मंसिर १ बाट सर्वोच्च अदालत बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने भएको छ। आइतबारदेखि बिहीबारसम्म ५ बजेसम्मै र शुक्रबार ४ बजेसम्म अदालत खुल्ला रहने सर्वोच्चका प्रवक्ता नारायाण पन्थीले जानकारी दिए।
अदालतको कार्य समय सुरु भएको आधा घन्टापछि नै इजलाश सञ्चालन गर्ने सर्वोच्चको फुलकोर्टबाट निर्णय भएको हो।
सर्वोच्च अदालत नियमावली अनुसार न्यायालयमा अतिरिक्त समयमा काम गराउन प्रधानन्यायाधीशले तोक्न सक्ने व्यवस्था छ। उक्त व्यवस्था अनुसार मुद्दाको कार्यबोझ घटाउन अक्तिरिक्त समयमा अदालत सञ्चालन गर्न लागिएको पन्थीले बताए।
न्यायाधीशहरु साढे ९ मा अदालत आउनुपर्ने १० मा इजलाश तोक्ने, १ बजेदेखि २ बजेसम्म खाजा समय र अपराह्न नियमित कार्यालय समयपछि समेत आधा घन्टासम्म इजलाशको काम गर्न सकिने फुलकोर्टको निर्णयमा उल्लेख छ।
यसअघि सर्वोच्च अदालतमा साढे १० मा न्यायाधीश उपस्थित हुँदै आएका थिए। ११ बजे इजलाश सञ्चालन हुने र ४ बजे समाप्त हुने हुदाँ मुद्दाको सुनुवाई प्रभावित भएको भन्दै सर्वोच्चले यस्तो निर्णय गरेको हो। हाल सर्वोच्चमा २० हजार मुद्दा विचाराधीन छन्। संविधानमा सर्वोच्चमा २१ जना स्थायी न्यायाधीश हुने व्यवस्था छ। हाल दुई जना न्यायाधीश रिक्त छन्।
मुद्दाको चापलाई एक वर्षमा ५ हजारमा झर्ने संसदीय सुनुवाई समितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले बताएका थिए। उक्त वाचालाई पूरा गर्न फुलकोर्टले यस्तो निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।