काठमाडौं – त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले लिएको एमबिबिएस प्रवेश परीक्षा पुन हुने सम्भावना बढेको छ । त्रिवि कार्यकारी परिषद्ले एमबिबिएस प्रवेश परीक्षामा प्रश्न पत्र बाहिरिएको ठहर गर्दै परीक्षाका विषयमा आवश्यक निर्णय गर्न आइओएमलाई पत्र पठाउने निर्णय गरेको छ ।
त्रिविका उपकुलपति तीर्थ खनियाँका अनुसार प्रवेश परीक्षामा डिभाइस मार्फत चिट चोरिएको, प्रश्नपत्र बाहिरिएको पुष्टि भएका कारण परीक्षाका विषयमा निर्णय गर्न आइओएमकै परीक्षा बोर्डलाई लेखि पठाएको बताए ।
‘परीक्षा मर्यादित र विश्वासनिय भएको देखिएन,’ उनले भने,‘त्यसकारण यो विषयमा आइओएमको परीक्षा बोर्डलाई निर्णय गर्न भनिएको छ ।’ उनले कार्यकारि परिषद्मा प्रहरीको प्रतिवेदन, नेपाल मेडिकल काउन्सिलको विज्ञको प्रतिवेदन, त्रिवि छाविन समितिको प्रतिवेदन र कानुनी सल्लाह गरी चारवटा आधारमा छलफल भएको जनाकारी दिए ।
‘चारवटै आधारलाई टेकेर परीक्षाका विषयमा छलफल हुँदा परीक्षामा प्रश्नपत्र बाहिरीएको र चिटिङ भएको देखियो,’ उपकुलपति खनियाँले भने, ‘त्यसकारण हामीले परीक्षा सञ्चालन गर्ने आइओएमकै बोर्डलाई उपयुक्त निर्णय लिन सुझाएका हौँ ।’
उनले घुमाउरो रुपमा पुनः परीक्षा गराउनुपर्ने निष्कर्ष निस्किएपनि निर्णयको जिम्मा परीक्षासँग सम्बन्धित आइओएमलाई नै दिइएको बताए ।
गत असोज २८ गते भएको एमबिबिएस प्रवेश परीक्षामा विद्यार्थीले डिभाइस मार्फत चिट चोरेको फेला परेपछि त्रिविले डा चिन्तामणि पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले मंगलबार त्रिविलाई पतिवेदन बुझाएको थियो।
समितिको प्रतिवेदन अनुसार, परीक्षा हलमा वितरण गरिएको सक्कल प्रश्नपत्र र विद्यार्थीले डिभाइसमार्फत दिएका उत्तरहरुलाई भिडाएर हेर्दा सेट दुईका १४ प्रश्नको उत्तर मात्र मिलेको थियो।
सेट दुईका कुल ६० प्रश्नमध्ये दुई वटा शाब्दिक र १२ वटा अन्य प्रश्न मात्र मिलेको प्रतिवेदनमा उल्लेख छ।
गत असोज २८ गते भएको परीक्षामा विद्यार्थीले डिभाइसमार्फत चिट चोरी गरेको फेला परेको थियो। प्रहरीको अपराध महाशाखाबाट खटिएको टोलीले तुरुन्तै पाँच जना विद्यार्थीलाई पक्राउ गर्यो। किस्ट कलेज, बागमती बोर्डिङ, अरुणिमा स्कुल र नामी कलेजबाट डिभाइसहित चिट चोरिरहेका विद्यार्थीहरु सप्तरीका राहुल झा, मोरङका सक्षम भण्डारी, सप्तरीकी शिखा झा, धनुषाका सञ्जय यादव र महोत्तरीका महेन्द्र ठाकुर र राजिव सिंह पक्राउ परे। यसैगरी, अर्काको परीक्षा दिने र दिन लगाउने ज्ञानेन्द्र ठाकुर र अजय यादवलाई पनि नियन्त्रणमा लिइयो। त्यस्तै, सेनाको मेडिकल कलेजबाट रौतहटका चिन्ताहरण साह पनि सोही दिन पक्राउ परे। उनीहहरु धनुषा घर भएका रमेशकुमार यादवको परीक्षा दिन गएका थिए। एमएससी अध्ययन गरेका साह पैसा लिएर अर्काको परीक्षा दिन गएका थिए।
चिट चोर्ने विद्यार्थी पक्राउ परेपछि काठमाडौंबाट भाग्दै गरेका गिरोहका नाइकेहरु खोज्न प्रहरी खटियो। गिरोहका नाइके समीरकुमार झासहित शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, सञ्जयकुमार यादव, भारतीय नागरिकद्वय सुविशदेव र सौभरकुमारलाई पक्राउ गर्न प्रहरी सफल भयो।
प्रहरीले केही दिनपछि यो प्रकरणमा संलग्न डा सुशील मण्डल र कन्सलटेन्सी सञ्चालक अभय मिश्रलाई पक्राउ गर्न सफल भयो। आइओएमबाट एमबिबिएस सकेका डा मण्डल डिभाइसमार्फत प्रवेश परीक्षाको उत्तर तयार पार्ने व्यक्ति रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।
उनी कुनै पनि अस्पतालमा काम नगरी प्रवेश परीक्षामा भने चलखेल गर्दै आएको प्रहरी अनुसन्धानमा देखिएको छ। प्रहरीले पक्राउ गरेका अर्का व्यक्ति पुतलीसडकस्थित एडुमार्क कन्सलटेन्सीका सञ्चालक हुन्। मिश्रले विद्यार्थीको प्रवेशपत्रमा फोटो परिवर्तन गराउँदै आइरहेका थिए। कीर्ते मुद्दामा कारबाही गरेपछि उनलाई डिभाइसमार्फत समेत चिट चोरी मुद्दामा कारबाही अघि बढाइएको छ। गिरोहका नाइके झासहित पक्राउ परेकालाई विद्युतीय कारोबार ऐन र ठगी मुद्दामा कारबाही अघि बढाइएको छ।
एसपीका छोरा फरार
डिभाइस मार्फत चिट चोरी गर्नेमध्येका एक सक्षमराज भण्डारी प्रहरीकै एसपी सुदीपराज भण्डारीका छोरा हुन् । तारेखमा छुटेका उनी भने फरार छन् । अन्य विद्यार्थीलाई प्रहरीले तारेखमा बोलाउने क्रममा थुनामा राखेको थियो । तर, सक्षमराजलाई प्रहरीले नै उन्मुक्ति दिएको बताइन्छ । एसपी भण्डारी र काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुक एउटै ब्याचका भएकाले सक्षमलाई भगाइएको बताइएको छ ।
प्रहरीले सुरुमा पक्राउ परेकाहरु विरुद्ध संगठित अपराध मुद्दा समेत चलाउने तयारी गरेको थियो । तर, सरकारी वकिल कार्यालयले विद्यार्थीलाई पनि अभियुक्त बनाउने निर्णय गरेपछि प्रहरीले पक्राउ परेका विद्यार्थी विरुद्ध ठगी र संगठित अपराध मुद्दा मात्र चलाउने भएको छ ।
वैशाखमै खुलेको थियो रहस्य
यस्तै प्रविधि मार्फत चिट चोरी गर्नेहरु गत ९ वैशाखमा पनि पक्राउ परेका थिए । एमडी÷एमएस तहको प्रवेश परीक्षामा ब्लुटुथबाट चिट चोरिरहेका चिकित्सकद्वय अभिषेक आचार्य र मनसा भोहरालाई प्रहरीले पक्राउ गरेको थियो । भोहरा महाराजगञ्जस्थित त्रिवि नर्सिङ कलेजबाट र आचार्य कमलपोखरीस्थित किस्ट कलेलबाट पक्राउ परेका थिए । त्यतिबेला दुवै जना सोर्सफोर्सका आधारमा छुटेका थिए । सिआइबीले उनीहरुलाई पक्राउ गरेसँगै अरु पनि तानिने भएपछि दबाबकै भरमा विस्तृत अनुसन्धान अघि नबढाई छाडेको स्रोतले बतायो। उक्त घटनामा पनि शनिबार पक्राउ परेका गिरोहका नाइके समीरकुमार झाकै संलग्नता रहेको आशंका प्रहरीको छ ।
पुरानै गिरोह
चिट चोर्ने तरिका नयाँ भए पनि पक्राउ परेकाहरु मेडिकल शिक्षामा लामो समयदेखि चलखेल गर्दै आएका व्यक्तिहरु हुन् । गिरोहका नाइके समीरकुमार झा दुई वर्षअघि एमबिएिसकै प्रश्नपत्र बिक्री गर्दैगर्दा पक्राउ परेका डा. प्रभातकुमार कुशवाहको गिरोहमा आबद्ध थिए । कुशवाहका सहयोगी उनले अहिले नयाँ प्रविधिमार्फत प्रवेश परीक्षामा चिट चोराएको प्रहरीले जनाएको छ ।
विराटनगरमा मेडिकल ल्याबका सामानको कारोबार गर्ने झा लामो समयदेखि एमबिबिएस भर्नामा चलखेल गर्दै आएका व्यक्ति भएको प्रहरीले जनाएको छ । उनको सबैजसो मेडिकल कलेजका सञ्चालकहरुसँग राम्रो सम्बन्ध छ । १९ असोज २०७१ मा डा कुशवाहको गिरोहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । सोही समूहका केही व्यक्तिले भारतबाट ‘म्याग्नेटिक साउन्ड स्पिकर’ खरिद गरी ल्याएका थिए । सिमकार्ड हाल्न मिल्ने र पहिलो रिङमै आफैं फोन उठ्ने प्रविधिमार्फत चिट चोराएका थिए ।
पक्राउ परेका शैलेन्द्रकुमार झा बुद्धनगरमा रहेको रेसनल एजुकेसन कन्सलटेन्सीका सञ्चालक हुन् । उनले नै डिभाइस मार्फत चिट चोर्ने केही विद्यार्थी खोजेका थिए । उनी समीरकुमार झाका आफन्त समेत हुन् । पक्राउ परेका गिरोहका अन्य व्यक्ति पनि कोही समीरका आफन्त, कोही सहयोगी र केही विद्यार्थी र उनीबीचका मध्यस्कर्ता हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।