काठमाडौं– निर्वाचनको मिति जति नजिकिँदै छ, वाम गठबन्धन र नेपाली कंग्रेसबीचको राजनीतिक धुव्रीकरण उति नै तीव्र बनेको छ। चुनावी प्रचारप्रसारमा रहेका आफ्ना उम्मेदवारप्रति भौतिक आक्रमणका घटना बढेपछि वाम गठबन्धनका शीर्ष नेतृत्व त्यसको प्रतिरोधमा उत्रिएका छन्।
गोरखाको चुनावीसभामा बुधाबार दिउँसो सँगै देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओदवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साँझ काठमाडौंको एक पत्रकार भेलामा पनि सँगै झुल्किए। तीनकुने स्थित एउटा पार्टी प्यालेसमा आयोजित पत्रकार भेलामा ओली र प्रचण्डले धेरै समय सरकार र कांग्रेस नेतृत्वको आलोचनामै खर्चिए।
कार्यक्रमको सुरुमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचन क्षेत्रको बाँडफाँट र उम्मेदवार चयन जस्तो जटिल कार्य सर्वसहमतीमा गर्न सफल भएको बताउँदै वाम गठबन्धनले राजनीतिक स्थायित्व, विकास निमार्ण र समृद्विको यात्रा तय गर्ने दाबी गरे। उनले भने, ‘गठबन्धन चुनावी रणनीति मात्र नभएर एकतालाई निष्कर्षमा पुर्याउने लक्ष्यका साथ गरिएको हो।’
वाम गठबन्धनपछि कांग्रेस आत्तिएको टिप्पणी गर्दैै प्रचण्डले विक्षिप्त मानसिकताका साथ कांग्रेस नेता भ्रामक र कपोलकल्पिक प्रचारमा उत्रिएको आरोप लगाए। सरकारको पछिल्ला कार्यशैलीप्रति प्रश्न उठाउँदै दाहालले भने, ‘सरकारको कामकारबाहीले निर्वाचन बिथोल्न खोजेको देखिएको छ।’
प्रचण्डले विभिन्न जिल्लामा आफ्ना उम्मेदवारप्रति ग्रिनेट र बम प्रहारमा सरकारकै सहभागिता देखिएको संकेत समेत गर्न भ्याए। उनले भने, ‘हतियारसहित समातिएका व्यक्ति छुटाउन कंग्रेसकै मन्त्रीले पहल गरेपछि त्यसको साँठगाँठमा सरकार समेत सामेल भएको देखिन्छ।’ पछिल्ला घटनाले समग्र निर्वाचनमा प्रभाव नपारे पनि सरकारले नियन्त्रण गर्न नसके जनताले त्यसलाई रोक्ने उनले चेतावनी दिए।
त्यसपछि प्रचण्डले बुढी गण्डकी जलविद्युत परियोजनाको प्रसंग उठाए। कंग्रेससहितको सरकारले सो परियोजना चिनियाँ कम्पनीलाई दिएको स्मरण गराउँदै उनले निर्वाचनको वातावरण बिग्रने गरी कामकारबाही नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराए। भने, ‘कांग्रेसले अझ अलोकप्रिय काम अघि नबढाओस्, आचारसंहिता उल्लंघनका कार्य समेत तत्काल रोकोस्। यसले राम्रो संकेत गरेको छैन।’
प्रचण्डपछि माइक एमाले अध्यक्ष केपी ओलीले ताने र सरकारप्रति निशाना साँधे। उनले पनि प्रचण्डले जस्तै निर्वाचन सार्ने कुटील मनसाय साथ सरकार देखा परेको आरोप लगाए। आगामी निर्वाचनले नयाँ लोकतान्त्रिक प्रणाली विकास गर्न खोजेको बताउँदै उनले अरुलाई देखाएर समृद्वि र विकासको यात्राबाट पन्छिन नमिल्ने उल्लेख गरे। ठट्यौली शैलीमा थपे, ‘बालबालिकालाई संसदमा आउनु मात्र भनेका छैनौं।विधानमा अरु सबै चिज समेटिएको छ।’
त्यसपछि गठबन्धन निमार्णको औचित्यमाथि बोल्दै ओलीले कानुनी राज स्थापना गरी, विकास, सुशासन, आर्थिक समृद्विका लागि एमाले र माओवादीको एकता आवश्यक रहेको बताए। राजनीतिक स्थायित्वका लागि बहुमत ल्याउन दुई पार्टी एक भएको ओलीको भनाइ थियो। ‘प्रधानमन्त्री बन्न र सरकार चलाउन मात्र गठबन्धन निर्माण भएको होइन,’ ओलीले प्रचण्डतर्फ इंगित गर्दै भने, ‘पार्टी अध्यक्ष भइसक्नुभयो, टुप्पीभन्दा नि माथि टुप्पी अध्यक्ष हुँदैन। दुई पटक प्रधानमन्त्री नि भइसक्नु भयो, अब चार पटक पुर्याउनु हुँदैन।’
वाम गठबन्धनले अधिनायकवाद ल्याउन खोजेको आरोपको प्रतिवाद गर्दै ओलीले लोकतन्त्रको आइएसओ प्रमाणपत्र र लाइसेन्स ल्याउन आफूहरु सानेपा (कांग्रेस केन्द्रीय कार्यालय) जान नपर्ने बताए। कांग्रेससँग देश निमार्णको कुनै योजना नभएको दाबी गर्दै ओलीले विभिन्न ठाउँबाट जोडजाम गरेर कांग्रेसले नयाँ घोषणा पत्र ल्याएको व्यंग्य गरे। भने, ‘कांग्रेसले आफूलाई खेलाडी मान्दैन। आफैं खेल हुँ भन्छ। फल, ह्यान्ड भए नि त्यसले आफूलाई नछुने सजिलो परिभाषा छ उसको छ।’
प्रधानमन्त्री देउवाप्रति आक्रमक देखिएका ओलीले चार पटक प्रधानमन्त्री भइसकेको मान्छेलाई गर्न हुने÷नहुने विषयमा ज्ञान नभएको टिप्पणी गरे। सरकार काम चलाउ भइसकेको दाबी गर्दै ओलीले निर्वाचन गराउन केन्द्रित हुन प्रधानमन्त्री देउवालाई आग्रह गरे।
ओलीले चेतावनीको शैलीमा भने, ‘सीमामा रहेर काम गर्नुस्, तपाईंले गरेका राजनीतिक नियुक्ति र सरुवा र बढुवा एक मुष्ठ बदर गर्न नपरोस्। चुनाव सार्न र रोक्न खोजेको हो भने त्यो मुलुकका लागि दुर्भाग्य हुनेछ।’
मन्तव्यको अन्त्यमा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवमाथि शब्दवाण प्रहार गरे। उनले भने, ‘विप्लप भाईलाई भन्न चाहन्छु, युवा हौ, बलिया छौ, गलत बाटो हिँड्न छाड। एउटा सकारात्मक काम गरेर भए पनि समाजमा योगदान गर।’
कांग्रेसको मतियार बनेर आफूहरुमाथि आक्रमण नगर्न आग्रह गर्दै ओलीले काटमार गर्न मन भए ‘बुचर हाउस’ खोलेर बस्न सुझाव दिए। ‘जनताका लागि लडेको मान्छे खुद्रा खेलमा लागेर मूलधारको राजनीतिबाट बाहिर जान नखोज। खलनायक बनेर चिनिने काम नगर,’ उनले थप प्रश्न गरे, ‘राजाले दिएको संविधान त मानेनौं, अब विप्लवले दिएको मान्नुपर्ने?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।