काठमाडौं– निर्माण व्यवसायी शरद कुमार गौचन हत्याको पाँच सातापछि प्रहरीले मंगलबार पाँच अभियुक्तलाई सार्वजनिक ग¥यो । तर, योजनाकार समूहमा रहेका भने कोही पनि पक्राउ पर्न सकेका छैनन्।
प्रहरीले हत्याको प्रमुख योजनाकार समिरमानसिंह बस्नेत भएको सार्वजनिक गरेको छ । उनीमात्र होइन उनको ‘कोर टिम’का कोही पनि पक्राउ परेका छैनन् । भाडाका अपराधी(पैसा लिएर काम गर्नेहरु) मात्र पक्राउ परेका छन्।
मुख्य योजनाकार बस्नेत कुनै समय कलंकी, बाफल र कालिमाटी क्षेत्रका ‘टोले गुन्डा’ थिए । तर, प्रहरीकै संरक्षणमा उनको दादागिरी बढ्दै गएको जानकारहरु बताउछन् । स्थानीय व्यवसायीहरुलाई उनी धम्काउदै पैसा उठाउथे । पक्राउ परेपछि २÷४ दिनमै छुट्थे । प्रहरी अधिकारीहरु नै उनलाई छुटाउन जान्थे।
पछि उनको ध्यान ठेक्कापट्टातर्फ गयो । ठेकदारहरुसँग कमिसन खान थाले । त्यही क्रममा उनको सहकार्य पुराना गुन्डा नाइके कुमार घैंटेसँग हुन थाल्यो । घैंटेसँग मिलेर उनले देशका सबैजसो ठुला ठेक्काको कमिसन लिन थालेका थिए।
त्यही क्रममा घैंटे २ वर्षअघि प्रहरी मुठभेडमा मारिएपछि उनी प्रहरीसँग डराएर भागेका थिए । त्यसपछि उनको भेट बुटवलमा गुन्डागर्दी गरेर फरार भएका मनोज पुनसँग भयो । दुवै जना मिलेर गत वर्ष युवा संघका नेता दुर्गा तिवारीको हत्या गरी पैसा असुली सुरु गरे । तर, पैसामा कुरा नमिलेपछि बस्नेत छुट्टिएका थिए । पुन आफुभन्दा जुनियर भएको र उमात्र हाइलाइट भएको उनलाई मन परेको थिएन । त्यसपछि बस्नेतले अर्का फरार गुन्डा लोप्साङ लामासँग मिलेर छुट्टै अन्डरवल्र्ड चलाउने योजना अघि बढाए।
सोही योजनाअनुसार उनीहरुले ठुला ठेकदारहरुलाई इन्टरनेट कलमार्फत धम्काउन थाले । त्यही क्रममा गत चैतमा काभ्रेली समूहका गुन्डा दावा लामामाथि गोली हाने । धम्काउने र असुल्नेक्रम जारी नै थियो।
त्यही क्रममा उनीहरु धम्काउन एक हाइप्रोफाइल व्यक्तिको खोजीमा थिए । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनले पैसा दिन मानिरहेका थिएनन्। ‘अध्यक्षकै हत्या गरेपछि अरुले डराएर पैसा दिने उनको आँकलन देखिन्छ,’ एक प्रहरी अधिकारी भन्छन्,‘त्यहीकारण हत्या गरे लगत्तै उनीहरुले जिम्मेवारी लिएका थिए ।’ हत्यालगत्तै व्यवसायीहरुलाई धम्काएर पैसा असुल्न थालेका थिए।
प्रहरी अधिकारीका अनुसार उनीहरुको योजना नै दाउद इब्राहिमकै शैलीमा ‘अन्डरवल्र्ड’ चलाएर पैसा असुल्नु हो । बिदेशमै लुकेर बस्ने र पैसा असुल्ने उनीहरुको योजना छ । उनलाई पक्राउ गर्न प्रहरी टोली भारत गएपनि असफल भइ फर्किएको छ । किनकी उनीहरुलाई प्रहरीको सबै अनुसन्धान शैली थाहा छ।
आफन्त पर्ने भएकाले केही प्रहरी अधिकारीहरुले विगतमा बस्नेतलाई सहयोग गरेका थिए । तर, अहिले उनीहरु नै आजित भएका छन् । यदी उनलाई छिट्टै पक्राउ गर्न नसके धेरै व्यवसायीहरुलाई उनीहरुले सताउन सक्ने ठानिएको छ । छानबिन समितिका संयोजक रहेका डिआईजी गणेश केसी पनि पैसा उठाउने उदेश्यले नै उनीहरुले गौचनको हत्या गरेको बताउछन् । बस्नेतको समूह देशमा रहेका संगठित अपराहिक समूहमध्ये सबैभन्दा ठुलो भएको र उनीहरुलाई छिट्टै आफुहरुले कानुनी दायरामा ल्याउने बताउछन्।
प्रहरीले मंगलबार सो समूहकाराजीव स्याङ्तान, पर्साका शिवजी महतो, भारतीय नागरिक मुकेशकुमार पाण्डे, पर्साका सन्तोष गुरुङ र काठमाडौं नागार्जुनका प्रकाश बुढाथोकीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।