नेपालगञ्ज– प्रदेश नम्बर ५ र ६ अन्तर्गत १६ जिल्लाका सुरक्षा अधिकारीहरुको बैठकले आसन्न निर्वाचनमा विप्लव समूहको गतिविधि र प्रमुख दलहरुबीच हुन सक्ने झडप मुख्य सुरक्षा चुनौती हुन सक्ने निष्कर्ष निकालेका छन्।
निर्वाचन आयुक्त, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरुसहितको संयुक्त बैठकमा कालिकोट, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम र जाजरकोटका सुरक्षा अधिकारीहरुले विप्लव समूहका गतिविधि मुख्य चुनौती भएको बताएका हुन्।
विप्लव समूहको गतिविधि नदेखिएका क्षेत्रमा पनि सो समूहका कार्यकर्तामाथि कडा निगरानी गरेर परिस्थितिको आकलन गर्ने सुरक्षा अधिकारीहरुको निष्कर्ष छ।
निर्वाचन बिथोल्न सक्ने खतरा बढ्दै गएकाले प्रहरीले ५ नम्बर प्रदेश अन्तर्गतका जिल्लाहरुमा विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिन थालेको छ। पछिल्ला २ दिनमा सो समूहका २७ कार्यकर्ता पक्राउ परिसकेका छन्।
विभिन्न दलसँग गठबन्धन गरेर जुनसुकै अवस्थामा पनि चुनाव जित्ने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएका प्रमुख पार्टीहरुलाई पनि चुनौतीको रुपमा हेरिएको छ। प्रमुख पार्टीहरुमध्ये कुनै एउटा पार्टीले चुनाव हार्न सक्ने आकलन गरेर मुख्य प्रतिस्पर्धी दलका उम्मेदवार तथा नेता–कार्यकर्तामाथि आक्रमण गरी चुनावको वातावरण बिथोल्न सक्ने आकलन सुरक्षा अधिकारीहरुले गरेका छन्।
त्यस्तै, बाँके, बर्दिया र दाङका सुरक्षा अधिकारीहरुले खुला सिमानाका कारण साना हतियारसहित आपराधिक समूह भित्रिएर कुनै पनि अप्रिय घटना गराउन सक्ने सम्भावनालाई मुख्य चुनौती मानेका छन्। साम्प्रदायिक सद्भाव बिथोलिएर राजनीतिक लाभ लिनेगरी कुनै पनि घटना हुन सक्ने आकलन सुरक्षा अधिकारीहरुको छ।
त्यसैगरी कर्णाली क्षेत्रका सुरक्षा अधिकारीहरुले सञ्चारको सहज सुविधा नहुँदा दुर्गम गाउँहरुको अवस्थाबारे समयमै जानकारी नआउने जनाउँदै सञ्चार सम्पर्क सहजरुपमा स्थापित हुने व्यवस्था मिलाउन आग्रह गरेका छन्।
दुर्गम क्षेत्रसम्म सञ्चार पहुँच नहुँदा अहिले जिल्लाको अवस्थाबारे निर्वाचन आयोग र सञ्चार माध्यमका प्रतिनिधिहरुले सोधेमा के जवाफ दिने भन्ने अन्यौलको अवस्था रहेको अधिकारीले बताए।
‘केन्द्रबाट सोधेमा ठीकै त होला भनेर अनुमानका भरमा जवाफ दिनुपर्ने अवस्था अझै पनि कायमै छ’, मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।
त्यसैगरी, मतदान अधिकृतहरु खटाउँदा उनीहरुले मागेको स्थानमा नखटाई गोलाप्रथाबाट खटाएमा निर्वाचन निष्पक्ष र धाँधलीरहित अवस्थामा सम्पन्न गर्न सहज हुने भन्दै सोही व्यवस्था मिलाउन सुरक्षा अधिकारीहरुले निर्वाचन आयुक्त तथा गृह सचिवलाई आग्रह गरेका छन्।
पहिलेको निर्वाचनमाभन्दा बढी सुरक्षाकर्मी खटिएको र सुरक्षा अधिकारीहरुले राम्रो तयारी गरेकाले निर्वाचन सहज रुपमा सम्पन्न हुने ५ नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक मिङमार लामाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।