काठमाडौं- नेकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर नेतृत्वको सरकारलाई म्यादी भन्दै यसले सनकका भरमा बूढीगण्डकी आयोजनाको निर्माण ठेक्का खारेज गरेको बताएका छन्।
अध्यक्ष ओलीले चुनावमा गराउन केन्द्रित हुनुपर्ने कामचलाउ सरकारले सनकका भरमा निर्णय लिन नहुने बताए।
राजधानीको तीनकुनेस्थित रोयल ब्यांकेटमा आयोजित विशेष पत्रकार भेटघाटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अन्य नेतासँगै प्रस्तुत भएका ओलीले अधिकांश समय कांग्रेस नेतृत्वको सरकारको आलोचना गर्नमा खर्चिएका थिए।
अझै पनि सरकार निर्वाचन सार्न सकिन्छ कि भनेर आचारसंहिता विपरीतका कार्य गर्न अग्रसर भइरहेको उनले आरोप लगाए। सरकारमा भयपछि नियम-कानुन मान्नुपर्दैन भन्ने सोच देखिएको अध्यक्ष ओलीको भनाइ थियो।
'वर्तमान सरकार मोहन शम्शेरको बाटोमा अघि बढिरहेको छ', ओलीले भने, 'आज सरकारले गरेका निर्णय भोलि एकमुष्ठ रुपमा बदर गर्नु नपरोस्, म चेतावनी दिंदै सचेत गराउन चाहन्छु।'
चुनावको मुखमा प्रहरीको दरबन्दी बढाउने सरकारको निर्णय पनि अनावश्यक भएको ओलीको भनाइ थियो।
उनले भने, 'अहिले किन प्रहरीको दरबन्दी बढाउनुपर्यो?', यो त चुनावमा धाँधली हो।'
कांग्रेसले पछिल्लो समय वाम गठबन्धनलाई लोकतन्त्र विरोधीको रुपमा चित्रण गरिएकोप्रति लक्षित गर्दै ओलीले समाजवादी हुने आइएसओ प्रमाणपत्र लिन सानेपा जानु नपर्ने बताए।
'कांग्रेसको चुनाव चिह्न रुख हो, बूढो रुख जस्तै बूढो पार्टी हो। अब लोकतन्त्र होइन, कांग्रेस सकिन्छ', ओलीले भने।
उनले अगाडि थपे, 'उहाँहरु आफूलाई खेलाडी हैन खेल सम्झनुहुन्छ र नियम मिच्ने कार्य गर्दै आउनुभएको थियो। म सोध्न चाहन्छु- उहाँहरुसँग विचार छ ? घोषणापत्र समेत अरुको चोरेर निकालेको हो।'
वाम गठबन्धनको प्रसंगमा ओलीले यो चुनाव जित्न नभई विकास गर्न बनाइएको गठबन्धन भएको भन्दै पार्टी एकीकरण नै हुने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।