काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको ठेक्का खारेज गरिएकोमा आक्रोश व्यक्त गरेका छन्।
राजधानीको तीनकुनेस्थित रोयल ब्यांकेटमा आयोजित वाम गठबन्धनको विशेष पत्रकार सम्मेलनमा प्रचण्डले कांग्रेसकै सहयोगमा चिनियाँ कम्पनीलाई दिने निर्णय गरिएको बूढीगण्डकी आयोजना सरकारले राष्ट्रहित विपरीत खारेज गर्ने निर्णय लिएको आरोप लगाए।
आक्रोशित रुपमा प्रस्तुत भएका प्रचण्डले भने, 'म प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाटै पास गरेर आयोजना निर्माणको जिम्मा दिइएको थियो। हामी पनि सरकारमै छौं। किन मलाई नसोधी खारेज गरियो?'
प्रचण्ड नेतृत्वको सरकारले १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ ठेकेदार कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो। प्रचण्ड सरकार कामचलाउ बनिसकेको अवस्थामा बिनाप्रतिस्पर्धा गेजुवालाई जिम्मा दिने सो निर्णयको चौतर्फी विरोध भएको थियो।
यही कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले गेजुवालाई दिइएको आयोजना निर्माणको ठेक्का खारेज गरिदिएको हो।
प्रचण्डले कांग्रेस नेतृत्वको सरकारले आयोजनाको ठेक्का खारेज गरेबाट विकासविरोधी को हो भन्ने प्रस्ट पारेको टिप्पणी गरे।
'जनताले यसको फैसला आफैं गर्छन्', उनले भने, 'सरकार निर्वाचन आंचारसहिता विपरित कार्य गर्दै छ।'
प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष पत्रकार सम्मेलन आयोजना गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।