काठमाडौं– सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे र दुई कर्मचारीलाई एक साता थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाण्डेलाई बुधबार पक्राउ गर्दै विशेष अदालतमा पेश गरेको थियो।
आयोगले विशेष सूचनाका आधारमा विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई दस लाख रुपैयाँ घुससहित मंगलबार पक्राउ गरेको थियो। उनीहरूकै बयानका आधारमा महानिर्देशक पाण्डे बुधबार पक्राउ परेका थिए।
अख्तियारले तीनै जनालाई थप अनुसन्धानका लागि २० दिन समय मागेको थियो। तर अदालतले पहिलो पटकका लागि एक साताको समय दिएको हो।
वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको आरोपमा मंगलबार राति ८ बजे नयाँ वानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट पौडेल र केसी पक्राउ परेका थिए। कालोसूचीमा परेको मेनपावर कम्पनीलाई फुकुवा गर्न १५ लाख रुपैयाँदेखि बार्गेनिङ गर्दै १० लाख लिएपछि अख्तियारले उनीहरुलाई पक्राउ गरेको थियो।
महानिर्देशक पाण्डेले नै तीन कर्मचारीहरुलाई पठाएको खुलेपछि उनलाई पक्राउ गरिएको हो। मंसिर ६ गते अवकाश लिने तयारीमा रहेका पाण्डे न्यायिक हिरासतमा पुगेका छन्। पक्राउ परेको व्यक्तिलाई २४ घन्टाभित्र अदालत पेश गर्नुपर्ने कानुनी व्यवस्था भएकाले उनीहरुलाई बुधबार एकै पटक अदालत पेश गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।