काठमाडौं– ज्यान मारेको अभियोगमा थुनामा रहेका पूर्व राज्यमन्त्री तथा पूर्व सांसद सञ्जय साहसँग विशेष अदालतले ५० लाख धरौटी माग गरेको छ।
बम विस्फोटन गराई व्यक्ति हत्याको आरोपमा पक्राउ परेका साह अदालतको आदेशपछि थुनामा छन्।
विशेषका न्यायायाधीशहरु बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले साहसँग धरौट माग गर्ने आदेश गरेको हो।
गैरकानुनी सम्पत्ती आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सांसद तथा पूर्वराज्यमन्त्री साहविरुद्ध २०७३ पुस २५ मा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
अख्तियारले साहविरुद्ध अकूत सम्पत्ती आर्जन गरेको भन्दै ३१ करोड ५० लाख रुपैयाँ बिगो दाबी गरेको थियो। गैरकानुनी सम्पत्ती आर्जनतर्फ दर्ता भएका मध्ये साहको मुद्दा सबैभन्दा धेरै बिगोको मुद्दा थियो।
अख्तियारले साहसहित उनका बाबु साधु साह सुडी, आमा दुलारीदेवी सुडी, भाइ रामकुमार साह र उनको कम्पनी तथा व्यावसायिक फर्मका कर्मचारी राम मिलन राउत कुर्मी र मनोजकुमार सिंहकी श्रीमती निलम सिंहलाई पनि गैरकानुनी सम्पत्ती आर्जन गरी लुकाएको अभियोगमा प्रतिवादी बनाएको थियो।
साह जनकपुर बम विस्फोटनको मुद्दामा जिल्ला अदालत धनुषाको आदेशपछि पुर्पक्षका लागि थुनामा छन्।
सर्वोच्च अदालतबाट लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्तमा अयोग्य ठहर भएको भोलिपल्टै अख्तियारले साहविरुद्ध मुद्दा दायर गरेको थियो।
२०६५ जेठ १४ देखि २०६९ जेठ १४ सम्म संविधानसभाको सभासद रहेका साह ०६५ भदौदेखि ०६९ पुससम्म भौतिक योजना तथा निर्माण राज्यमन्त्री थिए। धनुषाको जानकी चोकमा बम विस्फोट गरी भएको हत्याकाण्डमा संलग्न देखिएको आरोपमा फौजदारी मुद्दा चलेपछि ०७१ साल वैशाख ३० गतेदेखि साह सांसद पदबाट निलम्बित भएका थिए।
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका नेता साह सार्वजनिक पदमा रहनुअघि ९ वटा कम्पनीमा संलग्न रहेको अख्तियारको अनुसन्धानमा भेटिएको थियो। तर, छानबिन गर्दा एउटा बाहेक अरू कम्पनीको कारोबारको अभिलेख कर कार्यालयबाट फेला पर्न नसकेको अख्तियारको छानबिनले देखाएको थियो। उनी सार्वजनिक पदमा आउनुअघि नै ३ लाख १७ हजार रुपैयाँ आम्दानी गरेकोमा ३ करोड ३५ लाख रुपैयाँ खर्च गरेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो। सभासद हुनुअघि नै उनले ३ करोड ३२ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारको दाबी छ।
२०६५ सालमा सांसद भएपछि १३ महिनाको अवधिमा तलब र भत्ताबापत ३० प्रतिशत खर्च कटाएर २ लाख १९ हजार रुपैयाँ मात्रै आर्जन गरेका साहले त्यस अवधिमा ३ करोड १६ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारको दाबी छ। त्यस क्रममा उनले मेडिकल कलेज, जग्गा, विभिन्न कम्पनीमा लगानीका साथै बैंक खातामा मौज्दात जोडेका थिए।
२०६९ जेठ १५ देखि २०७३ साउन मसान्तसम्म साहले ६ करोड ३८ लाख रुपैयाँ स्रोत नखुलाई आर्जन गरेको अख्तियारको दाबी छ।
अलग्गै मिथिला राज्यको माग गर्दै जनकपुरमा उत्रिएका प्रदर्शनकारीलाई लक्षित गरी बम विस्फोटन गराएको घटनामा साहको संलग्नता देखिएको थियो।
२०६९ जेठ १८ मा जनकपुरको रामानन्द चोकमा शान्तिपूर्ण धर्नामा भएको बम विस्फोटको योजना बनाएको आरोपमा दर्ता भएको मुद्दा जिल्ला अदालतमा विचाराधीन भएकाले साह विशेष अदालतको आदेश अनुरुप धरौटी तिरेर रिहा हुन नपाएको विशेष अदालतका रजिस्ट्रार भीमप्रसाद श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।